गुगलले टुङ्ग्यायो मानसिक स्वास्थ्यमा नकारात्मक असर परेको भन्दै एक नाबालकले हालेको मुद्दा

  • Technology Khabar | १० असार २०८३, बुधबार
गुगलले टुङ्ग्यायो मानसिक स्वास्थ्यमा नकारात्मक असर परेको भन्दै एक नाबालकले हालेको मुद्दा
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

गुगलको यूट्युबले आफ्नो मानसिक स्वास्थ्यमा नकारात्मक असर परेको दावी गर्दै एक नाबालकले दायर गरेको मुद्दा मिलापत्रमार्फत टुंग्याएको छ। युवाहरूको मानसिक स्वास्थ्य संकटमा सामाजिक सञ्जालको भूमिकासम्बन्धी क्यालिफोर्नियामा हुन लागेको दोस्रो सुनुवाइअघि यो सहमति भएको हो।

वादी पक्षका वकिलहरूले मंगलबार दिएको जानकारीअनुसार राज्य अदालतमा दायर मुद्दाको सहमतिको विवरण गोप्य राखिएको छ। मुद्दामा यूट्युबसहित मेटाको इन्स्टाग्राम, स्न्यापको स्न्यापच्याट र बाइटडान्सको टिकटकलाई प्रतिवादी बनाइएको थियो। बाँकी तीन कम्पनीविरुद्ध भने जुलाईमा सुनुवाइ हुने तय छ।

गुगलका प्रवक्ता जोसे कास्टानेडाले विज्ञप्तिमार्फत मुद्दा आपसी समझदारीमा समाधान भएको बताए। उनले उमेरअनुसार उपयुक्त उत्पादन र अभिभावकीय नियन्त्रण प्रणाली विकासमा कम्पनीको ध्यान केन्द्रित रहेको बताए।

वादी आर.के.सी.का वकिल जोन मोर्गन र एमिली जेफकटले युट्युबले जुरीको सामना गर्नुअघि नै मुद्दा समाधान गर्ने निर्णयले धेरै कुरा स्पष्ट पार्ने बताएका छन्। उनीहरूले सामाजिक सञ्जालको लतबाट प्रभावित सबैको पक्षमा आफूहरूको लडाइँ जारी रहने र कम्पनीहरूलाई युवा प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकता दिन बाध्य पार्ने बताएका छन्।

अदालती कागजातअनुसार फ्लोरिडाका १६ वर्षीय आर.के.सी.ले करिब आठ वर्षको उमेरदेखि सामाजिक सञ्जाल प्रयोग गर्न थालेका थिए। त्यसपछि उनी सामाजिक सञ्जालको लतमा फसेको, निद्रा गुमाएको तथा डिप्रेसन र चिन्ताजस्ता समस्या भोग्नुपरेको दावी गरिएको छ।

यो मुद्दा सामाजिक सञ्जाल कम्पनीहरूले जानाजानी लत लाग्ने गरी प्लेटफर्म डिजाइन गरेको र त्यसबाट व्यक्तिहरूलाई हानि पुगेको दाबीको परीक्षण गर्ने क्यालिफोर्निया राज्य अदालतको दोस्रो सुनुवाइ बन्नेछ। सुनुवाइ जुलाई २७ बाट सुरु हुने तय छ।

हाल क्यालिफोर्निया राज्य अदालतमा सामाजिक सञ्जालको लतसम्बन्धी ३,३०० भन्दा बढी मुद्दा विचाराधीन छन्। त्यस्तै व्यक्ति, विद्यालय जिल्ला, स्थानीय निकाय र विभिन्न राज्यहरूले दायर गरेका थप २,६०० मुद्दा संघीय अदालतमा विचाराधीन छन्।

सामाजिक सञ्जाल कम्पनीहरूले भने आरोपहरू अस्वीकार गर्दै किशोर र युवा प्रयोगकर्ताको सुरक्षाका लागि व्यापक कदम चालिएको बताएका छन्।

मार्चमा टुंगिएको पहिलो सुनुवाइमा एक महिलाले कम उमेरमै युट्युब र इन्स्टाग्रामको लत लागेको दाबी गरेकी थिइन्। जुरीले कम्पनीहरूलाई लापरवाह ठहर गर्दै मेटालाई ४२ लाख डलर र गुगललाई १८ लाख डलर क्षतिपूर्ति तिर्न आदेश दिएको थियो। यस महिनाको सुरुआतमा न्यायाधीशले उक्त फैसला खारेज गर्न कम्पनीहरूले गरेको प्रयास अस्वीकार गरेका थिए।

संघीय अदालतमा हुने पहिलो सुनुवाइ जुन महिनामा सुरु हुने तय भए पनि केन्टकीको एक विद्यालय जिल्लाले मेटा, स्न्याप, टिकटक र युट्युबविरुद्ध दायर गरेको मुद्दा सुनुवाइअघि नै मिलापत्रमा टुंगिएको थियो। कम्पनीहरूले संयुक्त रूपमा २ करोड ७० लाख डलर तिरेर मुद्दा समाधान गरेका थिए।

लस एन्जलस र संघीय अदालतका मुद्दाबाहेक अमेरिकाका झन्डै सबै राज्यले आफ्ना स्थानीय अदालतमा पनि यी कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन्। ती मुद्दाहरूमा कम्पनीहरूले आफ्ना प्लेटफर्म बालबालिकाका लागि सुरक्षित रहेको भन्दै गलत जानकारी दिएको र बालबालिकालाई लत लाग्ने गरी डिजाइन गरेको आरोप लगाइएको छ।

राज्यहरूले दायर गरेका मुद्दामध्ये पहिलो सुनुवाइमा न्यु मेक्सिकोको जुरीले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको सुरक्षाबारे गलत जानकारी दिएको ठहर गर्दै मेटालाई ३७ करोड ५० लाख डलर तिर्न आदेश दिएको थियो। सोही मुद्दाको अर्को चरणमा कम्पनीलाई प्लेटफर्ममा परिवर्तन गर्न आदेश दिने वा नदिने विषयमा न्यायाधीशले विचार गरिरहेका छन्।

टेनेसी राज्यले दायर गरेको मुद्दामा मेटाले अर्को महिना सुनुवाइको सामना गर्नेछ। त्यस्तै विभिन्न राज्यहरूको संयुक्त दावीसम्बन्धी संघीय मुद्दाको सुनुवाइ अगस्टमा मेटाविरुद्ध अगाडि बढ्नेछ।

प्रकाशित: १० असार २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार