काठमाडौं ।
क्लाउड कम्प्युटिङ कम्पनी ओर्याकलको कुल कर्मचारी संख्या आर्थिक वर्ष २०२६ मा १३ प्रतिशत अर्थात् करिब २१ हजारले घटेको छ। कम्पनीले आफ्नो व्यवसाय पुनर्संरचना जारी राखेका बेला सञ्चालनमा एआईको प्रयोग बढेसँगै यो परिवर्तन भएको हो।
सोमबार सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनअनुसार २०२६ मे ३१ सम्म ओर्याकलमा १ लाख ४१ हजार कर्मचारी रहेका थिए। एक वर्षअघि सोही अवधिमा कम्पनीमा करिब १ लाख ६२ हजार कर्मचारी थिए।
प्रतिवेदनमा जनाइएअनुसार पुनर्संरचना गतिविधिसँग सम्बन्धित सेवाबाट अवकाश भुक्तानी तथा अन्य निकास खर्चका लागि कम्पनीले आर्थिक वर्ष २०२६ मा १ अर्ब ८४ करोड डलर खर्च गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो खर्च ३७ करोड ४० लाख डलर थियो।
रोयटर्सका अनुसार कम्पनीले व्यवस्थापन तथा उत्पादन परिवर्तन, कार्यसम्पादनसम्बन्धी समस्या, रणनीतिक परिवर्तन र अधिग्रहणलगायत विभिन्न कारणले कर्मचारी समायोजन गरिएको जनाएको छ।
यस वर्षको सुरुआतमा ओर्याकलले हजारौं रोजगारी कटौती गरेको सम्बन्धी विभिन्न समाचार सार्वजनिक भएका थिए। यसबारे टिप्पणीका लागि गरिएको रोयटर्सको अनुरोधमा कम्पनीले प्रतिक्रिया दिएको छैन।
एआईका कारण रोजगारी गुम्ने चिन्ता तीव्र बन्दै गएको छ। क्षेत्रगत रोजगारी कटौतीको तथ्याङ्क राख्ने वेबसाइट Layoffs.fyi का अनुसार यस वर्ष हालसम्म १९६ प्रविधि कम्पनीले १ लाख १९ हजार ८ सयभन्दा बढी कर्मचारी कटौती गरेका छन्।
लामो समयसम्म क्लाउड कम्प्युटिङ क्षेत्रमा सानो खेलाडी मानिएको ओर्याकलले पछिल्ला महिनाहरूमा ओपनएआई र मेटासँग ठूला डाटा सेन्टर सम्झौता गरेको छ। यसमार्फत कम्पनीले अमेजन र माइक्रोसफ्टजस्ता प्रतिस्पर्धीहरूसँग अझ कडा प्रतिस्पर्धा गर्ने प्रयास गरिरहेको छ।
तर यी प्रविधि दिग्गज कम्पनीहरूले ठूलो नगद प्रवाहबाट खर्च व्यवस्थापन गर्ने गरे पनि ओर्याकलले नगद खर्च गर्दै ऋण जारी गर्नुपरेको छ। यस वर्ष कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ।
ओर्याकलले यसै महिनाको सुरुआतमा चालु आर्थिक वर्षमा करिब ७० अर्ब डलर खुद पूँजीगत खर्च हुने अपेक्षा गरेको जनाएको थियो। त्यसका लागि कम्पनीले थप ४० अर्ब डलर ऋण तथा इक्विटीमार्फत जुटाउनेछ, जसमा यसअघि घोषणा गरिएको २० अर्ब डलरको सेयर निष्कासन पनि समावेश छ।
प्रकाशित: ९ असार २०८३, मंगलवार