
काठमाडौं ।
डोयच टेलिकमको इकाई टी–सिस्टम्स र युरोपको सबैभन्दा ठूलो औद्योगिक आपूर्ति शृंखला सञ्जालमध्ये एक मानिने सप्लाईअनले आपूर्ति शृंखलामा एआई प्रविधि समावेश गर्न सहकार्य गर्ने भएका छन्।
सप्लाइअनका अनुसार १०० भन्दा बढी देशका १ लाख ४० हजार कम्पनीहरूले यसको प्लेटफर्म प्रयोग गर्छन्। उत्पादक र आपूर्तिकर्ताहरूले खरिद, आपूर्तिकर्ता व्यवस्थापन, गुणस्तर सुनिश्चितता, लजिस्टिक्स तथा जोखिम व्यवस्थापनजस्ता मुख्य आपूर्ति शृंखला प्रक्रियाहरू सञ्चालन गर्न यो प्लेटफर्म प्रयोग गर्दै आएका छन्।
कम्पनीहरूका अनुसार आपूर्ति शृंखला झन् जटिल बन्दै गएको, नियामकीय आवश्यकताहरू बढिरहेको, भूराजनीतिक जोखिम तीव्र बन्दै गएको र डेटा आधारित निर्णय छिटो लिनुपर्ने आवश्यकता बढेकाले नयाँ समाधान आवश्यक भएको हो।
यस सहकार्यअन्तर्गत सप्लाइअनले आफ्नो प्लेटफर्मलाई टी–सिस्टम्सको इन्डस्ट्रियल एआई क्लाउडसँग जोड्नेछ। यसबाट कम्पनीहरूले डेटा माथिको पूर्ण नियन्त्रण कायम राख्दै एआईमार्फत खरिद, लजिस्टिक्स र आपूर्तिकर्ता व्यवस्थापन प्रक्रियाहरू स्वचालित बनाउन सक्ने जनाइएको छ।
कम्पनीहरूले यस साझेदारीले उत्पादक र आपूर्तिकर्ताबीच डिजिटल सहकार्यका लागि शक्तिशाली तथा सार्वभौम एआई प्लेटफर्म निर्माण गर्ने बताएका छन्।
युरोपेली प्रविधि परियोजनाहरूमा डेटा सार्वभौमिकताको विषयलाई विशेष महत्व दिइँदै आएको छ। यस परियोजनाअन्तर्गत संवेदनशील खरिद, उत्पादन र आपूर्तिकर्तासम्बन्धी डेटा युरोपभित्रै रहने र डेटा सुरक्षा तथा गोपनीयता मापदण्डअनुसार प्रशोधन गरिने जनाइएको छ।
एआई एजेन्टहरूले आपूर्तिकर्ता छनोट, बोलपत्र मूल्याङ्कन तथा सूचित खरिद निर्णय तयार गर्ने प्रक्रियामा खरिद टोलीलाई सहयोग गर्नेछन्। सबै एआई प्रशोधन म्युनिखस्थित टेलिकमको सार्वभौम एआई डाटा केन्द्रभित्रै गरिने बताइएको छ।
भविष्यमा यिनै एआई एजेन्टहरूले योजना निर्माण, गुणस्तर सुनिश्चितता, विद्युतीय बिलिङ तथा जोखिम व्यवस्थापन प्रक्रियामा पनि सहयोग गर्ने अपेक्षा गरिएको छ।
डोइच टेलिकमको व्यवस्थापन बोर्ड सदस्य तथा टी–सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत डा. फेरी अबोलहासनले एआई आधुनिक आपूर्ति शृंखलाको सञ्चालन प्रणाली बन्दै गएको बताए।
उनले कम्पनीहरूले एआईको पूर्ण सम्भावना उपयोग गर्न आफ्नो डेटा, एप्लिकेसन र प्रक्रियामाथि नियन्त्रण कायम राख्नुपर्ने उल्लेख गर्दै सप्लाइअनसँगको सहकार्यले सुरक्षित र सार्वभौम डिजिटल पूर्वाधारमार्फत निर्भरता नबढाई नवप्रवर्तन सम्भव बनाउने बताए।
सप्लाइअनका प्रमुख कार्यकारी अधिकृत मार्कस क्विकेनले आजका आपूर्ति शृंखलाहरू विश्वव्यापी मूल्य सृजना सञ्जाल भएको र कम्पनी, आपूर्तिकर्ता तथा साझेदारहरूबीच साझा तथा विश्वासयोग्य डाटा आधारमा सहकार्य हुनुपर्ने बताए।
एसएपी, सिमेन्स र सर्भिसनाउ टी–सिस्टम्सको इन्डस्ट्रियल एआई क्लाउडका संस्थापक साझेदार हुन्।
यस प्लेटफर्ममा ईडीएजी, अजाइल रोबोट्स, वाण्डेलबोट्स र फिजिक्सएक्सले औद्योगिक एआई तथा रोबोटिक्स क्षेत्रमा काम गरिरहेका छन्।
त्यस्तै नक्सटुआले ६ करोडभन्दा बढी कानुनी दस्तावेज विश्लेषण गर्न सक्ने कानुनी एआई समाधान विकास गरिरहेको छ भने सूफी ले १०० अर्ब प्यारामिटर भएको ठूलो भाषा मोडेल प्रशिक्षण गरिरहेको छ। क्वाण्टम सिस्टमले उच्च डाटा आवश्यकतासहितका स्वायत्त प्रणालीहरू विकास तथा सञ्चालन गरिरहेको छ।
कम्पनीका अनुसार यस्ता साझेदारहरूसँगको सहकार्यले इन्डस्ट्रियल एआई क्लाउडलाई उच्च कम्प्युटिङ क्षमता आवश्यक पर्ने एआई अनुप्रयोगहरूको प्लेटफर्मका रूपमा विकास गरिरहेको छ, जहाँ सुरक्षा र डाटा सार्वभौमिकतामा कुनै सम्झौता गरिँदैन।
यसैबीच माभेनिर र रेड ह्याटले पनि यसै साता एकीकृत एआई प्लेटफर्म सार्वजनिक गरेका छन्।
दुवै कम्पनीका अनुसार यो प्लेटफर्मले माभेनिरको एआई सफ्टवेयर प्लेटफर्मलाई रेड ह्याटको इन्टरप्राइज कुबर्नेटिज तथा एआई क्षमतासँग जोडेर दूरसञ्चार सेवा प्रदायकका लागि क्लाउड–नेटिभ एआई पूर्वाधार उपलब्ध गराउनेछ।
माभेनिरका अनुसार अपरेटरहरूले डेटा सेवाबाट जस्तै एआई सेवाबाट पनि आम्दानी गर्न सक्नेछन्। यसका लागि टोकनमा आधारित प्रयोग योजना उपलब्ध गराउन सकिनेछ र त्यसको शुल्क ग्राहकको मोबाइल बिलमा समावेश गर्न सकिनेछ।
प्रकाशित: ८ असार २०८३, सोमबार