ताजा समाचार

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि एपमार्फत मतदान गर्न मिल्ने

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि एपमार्फत मतदान गर्न मिल्ने
यही असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा आयोजना हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा आउने प्रतिनिधि र पाहुनाको स्वागतका लागि निर्माण गरिएको स्वागतद्वार । तस्बिरः कृष्ण आचार्य / रासस
Global IME Bank

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध हुने भएको छ।

रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीकाअनुसार मतदाताहरुले विद्युतीय उपकरणमा उम्मेदवारहरुको नाम र फोटोमा छोएर मतदान गर्न सकिने छ।

पहिलो चरणको मतदान गर्न करिब छ घण्टा लाग्ने अनुमान गरिएको छ। पहिलो चरणमा एक जना सभापति र ९९ जना सदस्यका लागि मतदान गरिने छ।

केसीका अनुसार निर्वाचित भएका सदस्यहरुबाट दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि निर्वाचन गरिने छ। केसीले यही असार ८ गते दिउँसो २ बजे मनोनयन प्रक्रिया सुरु गरेर त्यही साँझ पहिलो चरणको निर्वाचन गर्ने तयारी गरिएको बताए।

असार ८ गते रातिसम्ममा पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचन असार ९ गते गरिने उनको भनाइ छ। पदाधिकारीका लागि मात्र दोस्रो चरणको निर्वाचन हुनेछ।

उनले तीन हजारको हाराहारी प्रतिनिधि हुने अनुमान रहेको बताए। प्रवासमा रहेर आउन नसकेका प्रतिनिधिका लागि रास्वपाको आफ्नै एपमार्फत मतदानको व्यवस्था मिलाईंदै छ।

विदेशका १७० जना प्रतिनिधिमध्ये आउन नसक्नेहरुले एपमार्फत मतदान गर्ने छन् । रास्वपाको केन्द्रीय निर्वाचन आयोगमा प्रमुख र १० जना सदस्य रहेका छन् ।

निर्वाचन आयोगका प्रमुख र सदस्यले उम्मेदवारी दिन नपाउने भएपनि मतदान गर्न पाउने व्यवस्था छ । प्रमुख केसीले आफूहरुले मतदान नगरी तटस्थ निर्वाचन गराउने बताए। रासस

Sajilo Visa
easy care