किसानलाई आधुनिकतासँग जोड्ने अनुदानमा यान्त्रिक हलो

  • Technology Khabar | ५ असार २०८३, शुक्रबार
किसानलाई आधुनिकतासँग जोड्ने अनुदानमा यान्त्रिक हलो

काठमाडौं ।

बागलुङको जैमिनी नगरपालिकाले किसानलाई अनुदानमा यान्त्रिक हलो प्रदान गरेको छ । गाउँघरमा हलगोरु पाल्न छोडेपछि खेतबारी बाँझो बन्दै गएपछि खेतीयोग्य जमिनमा उत्पादन गर्न किसानलाई अनुदानमा यान्त्रिक हलो उपलब्ध गराएको हो ।

पम्परागत खेतीपाती गर्दै आएका किसानलाई आधुनिकतासँग जोड्ने र उत्पादन बढाउने उद्देश्यले यान्त्रिक हलो उपलब्ध गराएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए।

चालु आर्थिक वर्षमा नगरपालिकाले विनियोजन गरेको रु १० लाख र किसानबाट रु १० लाख गरी कूल रु २० लाख लागतमा ४२ यान्त्रिक हलो खरिद गरी वितरण गरिएको उनले जानकारी दिए।

चालु आवमा नगरपालिकाले ४२ जना किसानलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो उपलब्ध गराएको उपप्रमुख शर्माले बताए। नगरपालिकाले किसानलाई प्रविधिसँग जोडेर खेतीपाती गर्न सहज बनाउनुका साथै उत्पादन वृद्धि गर्नका लागि विगतका वर्षदेखिनै सहुलियत दिँदै आएको उनले बताए । नगरपालिकाले अघिल्लो वर्षदेखि कृषि एम्बुलेन्स सञ्चालन गर्दै आएको उनले जानकारी दिए।

उपप्रमुख शर्माले भने, “जैमिनी नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ, हरेक वर्ष किसानलाई अनुदान दिनुका साथै उत्पादित वस्तुलाई बजारीकरण गर्नका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएका छौँ । मल, बीउ र प्राविधिक तालिम पनि दिँदै आएका छौँ ।”

नगरपालिकाका कृषि शाखा प्रमुख सुवास सापकोटाले यस वर्ष वडा नं ६, ८, ९ र १० का किसानलाई यान्त्रिक हलो उपलब्ध गराएको जानकारी दिए। मिनिटेलरसँगै विद्युतीय मिल, थ्रेसर, सेन्सर उपकरणलगायत सामग्री उपलब्ध गराएको उनको भनाइ छ। वडा कार्यालयबाट छनोट भएका किसानले यस वर्ष कृषि उपकरण पाएको सापकोटाले जानकारी दिए।

पछिल्लो समय गाउँमा बारी जोत्नका लागि हलगोरु पाइन छोडेपछि खेतीयोग्य जमिन बाँझोमा परिणत हुँदै गएको जैमिनी नगरपालिका-६ का किसान वीरबहादुर थापा मगरले बताए। बारी जोत्नका लागि अहिले नगरपालिकाले आधुनिक हलो दिएपछि अब कुनै पनि बारी बाँझो नराख्ने बताए।  यान्त्रिक हलोले बारी जोत्नका लागि सहज हुने हुँदा बाझिँदै गएका खेतबारीमा पनि उत्पादन गर्न सकिने थापाको भनाइ छ। रासस

प्रकाशित: ५ असार २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...