अमेरिकाको ओहायो राज्यमा किशोर-किशोरीले सामाजिक सञ्जाल प्रयोग गर्नुअघि अभिभावकको अनुमति लिनुपर्ने

  • Technology Khabar | ५ असार २०८३, शुक्रबार
अमेरिकाको ओहायो राज्यमा किशोर-किशोरीले सामाजिक सञ्जाल प्रयोग गर्नुअघि अभिभावकको अनुमति लिनुपर्ने
सांकेतिक तस्बिर। फ्रिपिक डटकमको सहयोगमा।

काठमाडौं ।

अमेरिकी पुनरावेदन अदालतले ओहायो राज्यलाई १६ वर्षभन्दा कम उमेरका बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्नुअघि अभिभावकको अनुमति अनिवार्य बनाउने कानुन लागू गर्न अनुमति दिएको छ।

सिन्सिनाटीस्थित छैटौं अमेरिकी सर्किट अपिल अदालतको तीन सदस्यीय इजलासमध्ये दुई न्यायाधीशको बहुमतले प्रविधि उद्योगको व्यापारिक समूह नेटचोइसको अनुरोधमा कानुन कार्यान्वयन रोक्ने तल्लो अदालतको निर्णय उल्टाएको हो। अदालतले उक्त कानुनले अमेरिकी संविधानको पहिलो संशोधनअन्तर्गतको अभिव्यक्ति स्वतन्त्रताको अधिकार उल्लंघन नगर्ने निष्कर्ष निकालेको छ।

नेटचोइसले एक विज्ञप्तिमार्फत अदालतको निर्णयले ओहायोका बासिन्दाको अनलाइन गोपनीयता र संवैधानिक अधिकारलाई जोखिममा पार्ने बताएको छ। यद्यपि समूहले उक्त कानुन अन्ततः स्थायी रूपमा खारेज हुनेमा आफू विश्वस्त रहेको जनाएको छ।

ओहायोका महान्यायाधिवक्ता एन्डी विल्सनले भने अदालतको निर्णयले अभिभावकलाई आफ्ना बालबालिकामाथि निगरानी र सहभागिता जनाउने आवश्यक साधन उपलब्ध गराएको बताएका छन्।

यो निर्णय अष्ट्रेलियालगायत विभिन्न देशका सरकारले बालबालिकाको सामाजिक सञ्जाल पहुँच सीमित गर्ने प्रयास गरिरहेका बेला आएको हो। सामाजिक सञ्जालले बालबालिकाको स्वास्थ्य र सुरक्षामा पार्ने प्रभावबारे सांसदहरूबीच बढ्दो चिन्ताका कारण यस्ता कदमहरू चालिएका छन्।

रोयटर्सका अनुसार ओहायोको यो मुद्दा सामाजिक सञ्जालले बालबालिकाको मानसिक स्वास्थ्यमा पार्ने असरबाट जोगाउन आवश्यक भन्दै राज्यहरूले ल्याएका कानुनविरुद्ध नेटचोइसले दायर गरेका विभिन्न कानुनी चुनौतीमध्ये एक हो।

‘सोसल मिडिया पेरेन्टल नोटिफिकेसन एक्ट’ नामक ओहायोको कानुन सन् २०२३ मा पारित भएको थियो। यो जनवरी २०२४ मा लागू हुने तयारीमा थियो तर अमेरिकी जिल्ला अदालतका न्यायाधीश अल्जेनन मार्बलीले त्यसको कार्यान्वयन रोकेका थिए।

कानुनअनुसार १६ वर्षभन्दा कम उमेरका बालबालिकाले प्रयोग गर्ने सम्भावना भएका वेबसाइट सञ्चालकहरूले प्रयोगकर्ताको उमेर प्रमाणीकरण गर्नुपर्छ। कुनै वेबसाइट यस कानुनअन्तर्गत पर्छ वा पर्दैन भन्ने निर्धारणका लागि ११ वटा मापदण्ड पनि तोकिएको छ, साथै केही अपवादहरू पनि राखिएका छन्।

टिकटक, यूट्युब तथा मेटाको स्वामित्वमा रहेका फेसबुक र इन्स्टाग्राम सदस्य रहेको नेटचोइसले उक्त कानुन अस्पष्ट रहेको र पहिलो संशोधनले संरक्षण गरेको सामग्रीमा बालबालिकाको पहुँचलाई अनुचित रूपमा सीमित गर्ने तर्क गरेको थियो।

तर पुनरावेदन अदालतका न्यायाधीश एरिक क्लेले मुख्य निर्णय लेख्दै कानुनले अभिव्यक्ति स्वतन्त्रतामा केही भार थपे पनि र सामाजिक सञ्जाल कम्पनीहरूले सामग्री वितरण गर्ने तरिकामा केही सीमा लगाए पनि बालबालिकाको सुरक्षासम्बन्धी ओहायोको महत्वपूर्ण हितलाई सम्बोधन गर्न यो कानुन सीमित र लक्षित रूपमा तयार गरिएको बताएका छन्।

उनले निर्णयमा लेखेका छन्, “अन्ततः यो कानुनले अभिभावकको सहमति आवश्यक बनाउँछ। यो व्यवस्था सीमित भार मात्र हो, जसले ओहायोले बालबालिकाले आफूलाई हानि पुर्‍याउन सक्ने प्लेटफर्मका नियम तथा सर्तहरू अभिभावकको निगरानीबिना स्वीकार गर्ने अवस्था पहिचान गरेको समस्यालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्छ।”

प्रकाशित: ५ असार २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार