

काठमाडौं ।
अमेजनले आफ्ना एआई चिप बिक्री गरेर एनभिडियासँग अझ प्रत्यक्ष प्रतिस्पर्धा गर्ने योजना बनाएको संकेत दिएको छ।
ब्लुमबर्गसँग कुरा गर्दै अमेजन वेब सर्भिसेज (एडब्लूएस) का एआई प्रमुख पिटर डेसान्टिसले एडब्लूएसले आफ्नो एआई चिप ‘ट्रेनियम’ अन्य कम्पनीहरूलाई डाटा सेन्टरमा प्रयोगका लागि बेच्ने सम्भावनाबारे छलफल गरिरहेको बताए। यद्यपि उनले सम्भावित खरिदकर्ता कम्पनीहरूको नाम खुलाएनन्।
टेकक्रन्चका अनुसार चिप बिक्रीसम्बन्धी छलफल प्रारम्भिक चरणमै रहेको कम्पनीले जनाएको छ। यो विषय अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जेसीले अप्रिलको सुरुमा प्रकाशित वार्षिक शेयरधनी पत्रमा उल्लेख गरेका थिए। उनले अमेजनले विकास गरेका एआई चिपहरूको माग यति धेरै रहेको बताए कि भविष्यमा ती बिक्री गर्नेबारे सोचिरहेको बताए।
जेसीले पत्रमा लेखेका थिए, “यदि हाम्रो चिप व्यवसाय छुट्टै कम्पनी भएको भए र यस वर्ष उत्पादन भएका चिप एडब्लूएस तथा अन्य तेस्रो पक्षलाई बिक्री गरेको भए, हाम्रो वार्षिक आम्दानीको दर करिब ५० अर्ब डलर पुग्थ्यो। हाम्रो चिपको माग यति धेरै छ कि भविष्यमा तेस्रो पक्षलाई चिपका र्याकहरू बेच्न सक्ने सम्भावना छ।”
टेकक्रञ्चका अनुसार ५० अर्ब डलरको व्यवसायले एनभिडियालाई ठूलो असर पार्ने सम्भावना नरहे पनि यो रकम इन्टेलको वार्षिक आम्दानीको स्तरसँग तुलना गर्न सकिने बताइएको छ। हाल एनभिडियाको वार्षिक आम्दानीको दर करिब ३२६ अर्ब डलर रहेको छ।
एडब्लूएसले हालसम्म आफ्ना एआई चिप बिक्री नगर्नुका धेरै कारण छन्। मुख्य कारण, कम्पनीले चिपमार्फत प्रशोधन हुने एआई टोकनबाट मात्र नभई भण्डारण, सुरक्षा, नेटवर्किङ र निगरानीजस्ता अन्य क्लाउड सेवाबाट पनि आम्दानी गर्ने गरेको छ।
अर्को महत्वपूर्ण कारण भनेको चिपको उच्च माग हो। जेसीका अनुसार हालको ट्रेनियम चिपको क्षमता लगभग तुरुन्तै बिक्री भइसकेको थियो। उनले आगामी ‘ट्रेनियम ४’ चिपको क्षमता पनि उपलब्ध हुनुभन्दा एक वर्षभन्दा बढी अगावै बुक भइसकेको बताएका थिए। यो एडब्लूएसले औपचारिक रूपमा ओपनएआईका मोडेलहरूलाई आफ्नो सेवामा समावेश गर्नुअघि भएको थियो।
त्यसैले अन्य कम्पनीलाई चिप बिक्री गर्न थालेमा एडब्लूएसले आफ्ना हालका ग्राहकलाई प्रतीक्षा सूचीमा राख्नुपर्ने अवस्था आउन सक्छ, जबसम्म उसले आफ्नो उत्पादन साझेदार टीएसएमसी मार्फत अतिरिक्त चिप उत्पादन गर्न सक्दैन। तर त्यसका लागि टीएसएमसीमा एनभिडियासँग प्रतिस्पर्धा गर्नुपर्नेछ। हाल टीएसएमसीको सबैभन्दा ठूलो ग्राहक एनभिडिया बनेको छ, जसले एप्पललाई पछि पारेको छ।
एडब्लूएसका प्रवक्ता डोरन एरोन्सनले पनि भविष्यमा चिप बिक्रीको सम्भावना रहेको पुष्टि गरेका छन्। उनले भने, “हामीले ऐतिहासिक रूपमा प्रत्यक्ष रूपमा चिप बिक्री गर्ने अनुरोध अस्वीकार गर्दै आएका छौं, तर एन्डीले भविष्यमा तेस्रो पक्षलाई चिपका र्याकहरू बिक्री गर्न सकिने सम्भावना रहेको बताएका छन्।”
हालै एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङले एआईका लागि केवल जीपीयू मात्र नभई सीपीयू बिक्रीमार्फत पनि २०० अर्ब डलरको नयाँ बजार देखेको बताएका थिए।
त्यसैगरी जेसीले पनि ५० अर्ब डलरको सम्भावित चिप बजारलाई लक्षित गर्दै एनभिडियासँग अझ प्रत्यक्ष प्रतिस्पर्धा गर्ने महत्वाकांक्षा देखाएका छन्।
प्रकाशित: ५ असार २०८३, शुक्रबार