
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित/अनाधिकृत नम्बरबाट व्यक्तिगत नम्बरमा अनुरोध गरी आउने एसएमएसहरुमा क्लिक नगर्न अपिल गरेको छ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले अत्यन्त जरूरी सूचना प्रकाशित गर्दै हालका दिनहरूमा मोबाइल सेवा प्रदायकहरूको नेटवर्क पूर्वाधारको प्रयोग एवम् ओटीटी एप (ह्वाटसएप जस्ता) माध्यमको प्रयोग गरी आम-उपभोक्ताहरूको व्यक्तिगत मोबाइल नम्बरहरूमा फिशिङ लिंकहरू समावेश गरी निर्देशनसहितको मेसेज/संदेशहरूमा प्राप्त भई आम सर्वसाधारणहरूमा द्विविधा उप्त्पन्न भएको भन्ने जनगुनासोहरू प्राधिकरणमा प्राप्त भएको जनाएको छ।
प्राधिकरणले सूचनामा भनेको छ, “त्यस प्रकारका फिशिङ लिंकहरू वास्तविक जस्तै लाग्न गई सर्भासाधरणहरूमा भ्रम तथा द्विविधा उत्पन्न भई लिंकहरूमा Click वा प्रवेश गर्दा विभिन्न अपराधिक क्रियाकलाप, व्यक्तिगत विवरणमा अनधिकृत पहुँच तथा वित्तीय अपराध लगायतका क्षति हुन सक्ने जोखिमहरू हुने भएको हुँदा त्यस्ता संदेशहरुबाट प्राप्त हुने फिशिंङ्ग लिंकहरूमा प्रवेश, प्रयोग/Click नगर्नुहुन प्राधिकरण सम्पूर्ण सर्वसाधारणहरूमा हार्दिक अपिल गर्दछ।”
यसअघि टेलिकम कम्पनीहरु नेपाल टेलिकम र एनसेलले पनि आफ्ना सेवाग्राहीहरुलाई त्यस्ता एसएमएस र लिंकहरुबाट सतर्क रहन सूचना जारी गरिसकेका छन् ।
प्रकाशित: २ असार २०८३, मंगलवार