
काठमाडौं ।
वरिष्ठ अर्थशास्त्रीहरुले एआई र डिजिटलाइजेशनले मुलुकको अर्थतन्त्र व्यबस्थापनमा सहि मार्गनिर्देशन गर्न सक्ने बताएका छन् । मिडियम इन्टरनेसनलले आयोजना गरेको एआई डिजिटल फाइनान्स समिट कार्यक्रममा उनीहरुले एआईलाई नेतृत्वकर्ताले सहित तरीकाबाट प्रयोग गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा वरिष्ठ बैंकिङ विज्ञ तथा अर्थविद् डा. प्रकाशकुमार श्रेष्ठले विश्व सूचना प्रविधिको विकासक्रमसँगै कम्प्युटर युगबाट अघि बढेर अहिले कृत्रिम बुद्धिमत्ता (एआई) को युगमा प्रवेश गरिसकेको बताएका छन्। प्रविधिको तीव्र विकाससँगै विश्वभर एआईको प्रयोग बढ्दो क्रममा रहेको उल्लेख गर्दै उनले नेपालले पनि समयानुकूल रूपमा यस प्रविधिको उपयोगलाई विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले विशेषगरी बैंकिङ तथा वित्तीय क्षेत्रमा एआईको प्रभावकारी प्रयोगले सेवा प्रवाह, कार्यक्षमता र उत्पादकत्वमा उल्लेखनीय सुधार ल्याउन सक्ने बताए। बैंक तथा वित्तीय संस्थाहरूले डिपोजिट मोबिलाइजेसन बढाउने, ग्राहकको व्यवहार विश्लेषण गर्ने, व्यक्तिगत आवश्यकताअनुसार सेवा प्रदान गर्ने तथा ग्राहक सन्तुष्टि अभिवृद्धि गर्न एआईलाई प्रभावकारी रूपमा प्रयोग गर्न सक्ने उनको भनाइ थियो।
डा. श्रेष्ठका अनुसार बैंकिङ क्षेत्रमा ग्राहक सेवा सुधार, जोखिम व्यवस्थापन, धोखाधडी नियन्त्रण, कर्जा मूल्याङ्कन तथा सञ्चालन खर्च न्यूनीकरणजस्ता क्षेत्रमा एआईको प्रयोग अत्यन्त उपयोगी हुन सक्छ। एआईमा आधारित प्रणालीले ठूलो मात्रामा उपलब्ध डेटा विश्लेषण गरी छिटो र प्रभावकारी निर्णय लिन सहयोग पुर्याउने भएकाले वित्तीय संस्थाहरूको प्रतिस्पर्धात्मक क्षमता समेत बढ्न सक्ने उनले बताए।
उनले बैंकिङ क्षेत्रलाई सहयोग पुर्याउने विभिन्न डिजिटल प्रणाली, स्वचालित सेवा तथा डेटा व्यवस्थापन प्रणालीहरूमा एआईको प्रयोगले उत्पादकत्व वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे। साथै, डिजिटल बैंकिङ सेवाको विस्तारसँगै ग्राहकको अपेक्षा पनि परिवर्तन भइरहेकाले बैंकहरूले प्रविधिमैत्री सेवा विकासमा ध्यान दिनुपर्ने उनको सुझाव थियो।
यसैगरी वरिष्ठ अर्थशास्त्री तथा बैंकिङ विज्ञ नरबहादुर थापाले नेपाल कृत्रिम बुद्धिमत्ता (एआई) को पूर्ण प्रयोगको चरणमा अझै पुगिनसकेको बताए। उनले एआईको सम्भावना अत्यन्त ठूलो भए पनि यसले तत्कालै देशको अर्थतन्त्रमा उल्लेखनीय वृद्धि ल्याउने अवस्था भने नबनिसकेको स्पष्ट पारे।
एआई र डिजिटलाइजेसनसम्बन्धी कार्यक्रममा बोल्दै थापाले एआईलाई आर्थिक विकासको प्रत्यक्ष माध्यमभन्दा पनि कार्यसम्पादनलाई सहज, छिटो र प्रभावकारी बनाउने प्रविधिका रूपमा लिनुपर्ने बताए। उनका अनुसार एआईले विभिन्न क्षेत्रमा उत्पादकत्व वृद्धि, निर्णय प्रक्रियामा सुधार तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याउन सक्छ।
उनले नेपालमा पछिल्लो समय वित्तीय क्षेत्रमा डिजिटलाइजेसन उल्लेखनीय रूपमा विस्तार भएको बताए। बैंक तथा वित्तीय संस्थाहरूले कम्प्युटर अटोमेसन, डिजिटल भुक्तानी प्रणाली, मोबाइल बैंकिङ र अनलाइन सेवामार्फत सेवा प्रवाहलाई आधुनिक बनाएका छन्। यद्यपि, अबको आवश्यकता भनेको डिजिटल प्रविधिको प्रयोगलाई अझ उन्नत तहमा पुर्याउँदै एआईमार्फत अर्थतन्त्रलाई नयाँ दिशा दिनु रहेको उनले बताए।
थापाका अनुसार एआईको प्रयोग केवल निजी क्षेत्रमा सीमित नराखी सार्वजनिक प्रशासन, वित्तीय नीति निर्माण तथा सरकारी सेवा प्रवाहमा समेत विस्तार गर्न आवश्यक छ। उनले नेपाल राष्ट्र बैंक, विभिन्न सरकारी निकाय तथा सार्वजनिक संस्थाहरूले डाटा-आधारित निर्णय प्रणाली विकास गर्न एआईको प्रयोग बढाउनुपर्नेमा जोड दिए।
प्रकाशित: २ असार २०८३, मंगलवार