
काठमाडौं ।
टेस्लाले आफ्नो ‘फुल सेल्फ–ड्राइभिङ’ (एफएसडी) प्रणालीका लागि यूरोपेली स्वीकृति प्राप्त गर्ने प्रयासका क्रममा स्विडेन र नेदरल्यान्ड्सका नियामक निकायहरूलाई आफैंले तयार पारेका सुरक्षा तथ्यांक प्रस्तुत गरेको छ। स्वतन्त्र यातायात–सुरक्षा अनुसन्धानकर्ताहरूले ती तथ्यांकलाई भ्रामक प्रचार सामग्रीको संज्ञा दिएका छन्।
गत महिना रोयटर्सले गरेको अध्ययनले टेस्लाका प्रमुख कार्यकारी इलन मस्क र कम्पनीका अन्य अधिकारीहरूले पछिल्लो एक वर्षदेखि एफएसडी चालक–सहायता प्रणाली मानव चालकभन्दा १० गुणासम्म सुरक्षित रहेको दावी गर्दै आएका छन्।
तर रोयटर्सको समीक्षाले टेस्लाले प्रयोग गरेका केही तथ्यांक तुलना त्रुटिपूर्ण रहेको र तिनले सुरक्षा दावीलाई बढाइचढाइ गरेको पत्ता लगाएको थियो।
यूरोपमा बजार हिस्सा पुनः बढाउने प्रयास गरिरहेको टेस्लाले एफएसडीको व्यापक स्वीकृति प्राप्त गर्न यिनै बढाइचढाइ गरिएका तथ्यांक केही यूरोपेली नियामकसमक्ष पनि प्रस्तुत गरेको रोयटर्सले सार्वजनिक अभिलेखमार्फत प्राप्त पत्राचारबाट खुलासा भएको छ। टेस्लाले सन् २०२४ को अन्त्यतिर डच सडक नियामक आरडीडब्ल्यूसँग एफएसडी स्वीकृति प्रक्रिया सुरु गरेको थियो।
नोभेम्बर २०२४ मा आरडीडब्ल्यूलाई पठाएको पत्रमा टेस्लाले आफ्नो सुरक्षा प्रतिवेदनको लिंक दिँदै एफएसडीको बढ्दो प्रयोगले सडकलाई अझ सुरक्षित बनाउने दावी गरेको थियो। निश्चित अवस्थाहरूमा आफैं चल्न सक्ने यो प्रणाली प्रयोग गर्दा पनि चालकले निरन्तर ध्यान दिनुपर्ने हुन्छ। टेस्लाले एफएसडीका लागि मासिक सदस्यता शुल्क लिन्छ।
एक वर्षभन्दा बढी परीक्षण र छलफलपछि आरडीडब्ल्यूले अप्रिलमा नेदरल्यान्ड्समा एफएसडी प्रयोगका लागि स्वीकृति दिएको थियो। अहिले डच नियामकले टेस्लाका तर्फबाट सम्पूर्ण यूरोपेली सङ्घमा स्वीकृतिका लागि पहल गरिरहेको छ।
रोयटर्सले औंल्याएका सुरक्षा तथ्यांकसम्बन्धी प्रश्नमा आरडीडब्ल्यूले टिप्पणी गर्न अस्वीकार गर्यो। तर संस्थाले आफ्नो निर्णय मार्केटिङ दाबी वा बाह्य तथ्यांकमा आधारित नहुने र सार्वजनिक सडक तथा परीक्षण ट्र्याकमा आफ्नै परीक्षण, विश्लेषण र प्रमाणीकरण गर्ने जनाएको छ। अमेरिकी सुरक्षा तथ्यांकको मूल्याङ्कन गरिएको थियो वा थिएन भन्नेबारे भने उसले खुलाएन।
आरडीडब्ल्यूका अनुसार टेस्लाले परीक्षणका क्रममा ठूलो परिमाणमा तथ्यांक सङ्कलन गरेको थियो र ती सबै तथ्यांकको प्रमाणीकरण, परीक्षण तथा लेखापरीक्षण गरिएको थियो। तर कस्तो प्रकारको तथ्यांक सङ्कलन गरिएको थियो भन्ने विवरण दिइएन। टेस्लाले यस विषयमा प्रतिक्रिया दिएको छैन।
डच निर्णय सार्वजनिक भएको केही समयपछि टेस्लाका नीति व्यवस्थापक इभान कोमुसानाकले स्विडेनका नियामकलाई यस्तै स्वीकृति माग गर्दै इमेल पठाएका थिए।
उनले संलग्न गरेको सत मानव चाप्रस्तुतीकरणमा एफएसडी प्रयोग गरिएका टेस्ला गाडीहरू अमेरिकी औलकको तुलनामा दुर्घटनाबीच सात गुणाभन्दा बढी दूरी यात्रा गर्न सक्ने दावी गरिएको थियो।
प्रस्तुतीकरणमा एफएसडीका कारण सम्भावित रूपमा ३२ हजार मानिसको ज्यान जोगिन सक्ने र १९ लाख चोटपटक रोक्न सकिने दावी पनि गरिएको थियो।
रोयटर्ससँग कुरा गरेका अनुसन्धानकर्ताहरूका अनुसार यी तथ्यांक अत्यन्त भ्रामक छन्, किनभने ती सबै अमेरिकी सवारीसाधन—मालवाहक ट्रक र बढी दुर्घटना हुने मोटरसाइकलसमेत—एफएसडीयुक्त टेस्लाले प्रतिस्थापन गर्ने अवास्तविक मान्यतामा आधारित छन्। साथै प्रत्येक टेस्ला गाडीले प्रतिस्थापन गरेको सवारीभन्दा कम्तीमा सात गुणा बढी सुरक्षा दिन्छ भन्ने अनुमान पनि गरिएको छ।
रोयटर्सको अध्ययनले टेस्लाले एफएसडी प्रयोग गरिएका गाडीमा एयरब्याग खुलेका दुर्घटनाको दरलाई अमेरिकाका सबै प्रकारका दुर्घटनासहितको समग्र दुर्घटना दरसँग तुलना गरेर सुरक्षा स्तर बढाइचढाइ गरेको देखाएको थियो।
कम्पनीले आफ्ना गाडीको तुलना अमेरिकी औसत गाडीसँग पनि गर्छ, जबकि औसत अमेरिकी गाडी टेस्लाभन्दा धेरै पुरानो हुन्छ। नयाँ सुरक्षा प्रविधिका कारण आधुनिक गाडीमा दुर्घटना कम हुने भएकाले यस्तो तुलना विकृत मानिन्छ।
स्विडिस यातायात एजेन्सीका अनुसन्धानकर्ता एन्डर्स एरिक्सनले टेस्लाले उपलब्ध गराएको तथ्यांकबारे टिप्पणी गर्न अस्वीकार गरे। तर उनले नियामकहरूले केवल मुख्य शीर्षकका तथ्यांकमा भर नपरी समग्र प्रमाणको मूल्याङ्कन गर्ने बताए।
युरोपियन ट्रान्सपोर्ट सेफ्टी काउन्सिलका प्रवक्ता डड्ली कर्टिसले टेस्लाले स्विडेनका नियामकसमक्ष अमेरिकाबाट आएको अविश्वसनीय सुरक्षा तथ्यांक प्रस्तुत गरेको विषयमा आफ्नो संस्था चिन्तित रहेको बताए। उनले टेस्लाले सुरक्षा सम्बन्धी दावी गर्न चाहेको हो भने तथ्यांक विश्वविद्यालय वा योग्य अनुसन्धानकर्तामार्फत स्वतन्त्र रूपमा प्रमाणीकरण गरिनुपर्ने बताए।
टेस्लाले युरोपमा एफएसडी स्वीकृति प्राप्त गर्नु क्षेत्रीय बिक्री वृद्धिका लागि महत्वपूर्ण रहेको बताउँदै आएको छ। कम्पनीले गत वर्ष Elon Musk का राजनीतिक गतिविधि र युरोपका अति-दक्षिणपन्थी राजनीतिक दलप्रतिको समर्थनका कारण भएको विरोध प्रदर्शनपछि घटेको बजार हिस्सा पुनः प्राप्त गर्ने प्रयास गरिरहेको छ।
एफएसडीले स्वीकृति नपाएमा युरोपमा चिनियाँ विद्युतीय सवारी उत्पादकहरूको बढ्दो प्रतिस्पर्धासँग जुध्न टेस्लालाई कठिन हुन सक्छ।
आगामी महिनाहरूमा युरोपेली सङ्घका सदस्य राष्ट्रमध्ये कम्तीमा ५५ प्रतिशत देश, जसले सङ्घको ६५ प्रतिशत जनसंख्याको प्रतिनिधित्व गर्छन्, एफएसडीको पक्षमा मतदान गर्नुपर्नेछ। त्यसपछि मात्र यो प्रविधि सम्पूर्ण युरोपेली सङ्घमा कानुनी रूपमा प्रयोग गर्न पाइनेछ।
त्यसअघि व्यक्तिगत सदस्य राष्ट्रहरूले आफ्नै स्तरमा स्वीकृति दिन सक्छन्। गत महिना एफएसडी स्वीकृतिको लक्ष्य रहेको बताएको ग्रीसका नियामकले “अटलान्टिक पारिको तथ्यांक” उद्धृत गर्दै यो प्रणालीले दुर्घटना उल्लेखनीय रूपमा घटाउने दावी गरेका थिए।
ग्रीसको यातायात मन्त्रालयले उक्त तथ्यांक टेस्लाको सुरक्षा प्रतिवेदनबाट लिइएको हो वा होइन भन्ने प्रश्नको जवाफ दिएको छैन।
अन्य युरोपेली देशका नियामकहरूलाई पनि टेस्ला चालकहरूबाट एफएसडी छिट्टै स्वीकृत गर्न आग्रह गर्दै टेस्लाका सुरक्षा तथ्यांक उद्धृत गरिएका इमेलहरू प्राप्त भएका थिए।
गत शरद ऋतुमा केही टेस्ला चालकहरूले नर्वेली सडक नियामकलाई पत्र लेख्दै एफएसडी औसत म्यानुअल ड्राइभिङभन्दा निकै सुरक्षित रहेको र यसले सडक दुर्घटना ९० प्रतिशतसम्म घटाउन सक्ने दावी गरेका थिए।
नर्वेको सार्वजनिक सडक प्रशासनका स्टाइन–हेल्गे मुन्डालले यस्ता पत्रहरूको जवाफ दिँदै टेस्लाका तथ्यांक कम्पनी आफैंले तयार पारेका भएकाले सरकारी दुर्घटना तथ्यांकसँग त्यसको प्रत्यक्ष सम्बन्ध स्थापित गर्न कठिन हुने बताएका थिए।
प्रकाशित: २ असार २०८३, मंगलवार