
काठमाडौं ।
भारतले दुर्घटना रोकथाम तथा स्वचालित रूपमा चल्ने सवारी साधनमा प्रयोग हुने रेडियो स्पेक्ट्रमका लागि आवश्यक लाइसेन्स व्यवस्था हटाएको छ। यस कदमले सवारी निर्माता कम्पनीहरूका लागि रहेको व्यावसायिक बाधा हटाउनुका साथै विश्वकै सबैभन्दा जोखिमपूर्ण सडकमध्ये पर्ने भारतीय सडकलाई सुरक्षित बनाउने सरकारी प्रयासलाई बल पुर्याउने अपेक्षा गरिएको छ।
विश्वको तेस्रो ठूलो सवारी बजार भारतमा सन् २०२४ मा करिब पाँच लाख सडक दुर्घटनामा १ लाख ७७ हजारभन्दा बढी मानिसको मृत्यु भएको सरकारी तथ्यांकले देखाएको छ।
सरकारले बिहीबार जारी गरेको सूचनाअनुसार ७७ गिगाहर्जदेखि ८१ गिगाहर्ज आवृत्ति क्षेत्रमा सञ्चालन हुने राडार सेन्सरका लागि लाइसेन्स आवश्यक नपर्ने व्यवस्था गरेको छ। यससँगै कम्पनीहरूले सम्बन्धित निकायबाट छुट्टै स्पेक्ट्रम अनुमति नलिई यी उपकरण प्रयोग गर्न सक्नेछन्।
अर्को सूचनामार्फत ५.९ गिगाहर्ज ब्यान्डमा सञ्चालन हुने प्रणालीका लागि पनि यस्तै व्यवस्था गरिएको छ। यो प्रविधिले सवारी साधनहरूलाई एकअर्कासँग तथा सडक पूर्वाधारसँग प्रत्यक्ष सञ्चार गर्न सक्षम बनाउँछ।
अन्तर्राष्ट्रिय मापदण्डसँग समन्वयमा
यो निर्णयसँगै भारतले अमेरिका र युरोपेली संघमा लागू मापदण्डसँग आफूलाई समायोजन गरेको छ। यसले सवारी उत्पादक कम्पनीहरूलाई महँगो स्थानीय संस्करण विकास गर्नुपर्ने आवश्यकता हटाएर अन्तर्राष्ट्रिय रूपमा उपलब्ध उपकरण सीधै प्रयोग गर्न अनुमति दिनेछ। यसबाट लागत घट्ने र नयाँ प्रविधिको प्रयोग छिटो विस्तार हुने अपेक्षा गरिएको छ।
रोयटर्सका अनुसार मर्सिडिज-बेञ्ज र बीएमडब्लूजस्ता लक्जरी ब्रान्डहरूले विदेशमा उपलब्ध राडार-आधारित चालक सहायता प्रणाली अब भारतमा पनि सहजै ल्याउन सक्नेछन्।
त्यस्तै मारुती सुजुकी, टाटा मोटर्स र महिन्द्रा एण्ड महिन्द्राजस्ता भारतीय कम्पनीहरूले उन्नत चालक सहायता प्रणाली (एडास) सजिलै समावेश गर्न सक्नेछन्, जसले हाल महँगा सवारीमा मात्र उपलब्ध सुरक्षा सुविधा सस्ता मोडेलमा पनि विस्तार गर्न मद्दत गर्नेछ।
यसबाट जर्मनीका बोश, कन्टिनेन्टल तथा चिप निर्माता क्वालकमजस्ता आपूर्तिकर्ता कम्पनीहरूले पनि लाभ पाउने अपेक्षा गरिएको छ।
राडार सेन्सरले सुरक्षित दूरी मापन गर्न सहयोग गर्छ र आकस्मिक ब्रेकिङ, अनुकूली क्रुज कन्ट्रोल तथा ब्लाइन्ड-स्पट चेतावनीजस्ता सुविधा उपलब्ध गराउँछ। यी प्रविधिहरू स्वचालित सवारी सञ्चालनको आधारभूत संरचना मानिन्छन्।
यस्तै, ‘भेहिकल-टु-एभ्रिथिङ’ (भी२एक्स) प्रणालीले चालकको प्रत्यक्ष दृष्टिभन्दा बाहिर रहेका जोखिमबारे चेतावनी दिन सक्छ। उदाहरणका लागि अन्धो मोडपछि अचानक ब्रेक लागेको सवारी वा नजिकिँदै गरेको एम्बुलेन्सबारे समयमै जानकारी दिन सकिन्छ।
सन् २०२३ मा गठित सरकारी समितिले अधिकांश ट्राफिक समस्या यस्तै परिस्थितिमा हुने उल्लेख गरेको थियो। समितिको भनाइअनुसार धेरै सेन्सरले यस्ता अवस्थामा प्रभावकारी रूपमा काम गर्न नसक्दा भी२एक्स प्रविधिले त्यो कमी पूरा गर्न सक्छ।
समितिले भारतको स्वैच्छिक सुरक्षा मूल्याङ्कन प्रणाली ‘भारत एनक्याप’मा पनि भी२एक्स प्रविधिलाई समावेश गर्न सिफारिस गरेको थियो। हाल उक्त प्रणालीले मुख्यतः दुर्घटनापछि सवारीको सुरक्षा प्रदर्शन मूल्याङ्कन गर्छ।
भारतका भीडभाडयुक्त सडकमा चालकहरूले पशुचौपाया, पैदलयात्री तथा अन्य अप्रत्याशित जोखिमको सामना गर्नुपर्ने अवस्था रहँदै आएको छ। साथै लेन अनुशासन र गति सीमाको उल्लंघन व्यापक रूपमा हुने तथा कार्यान्वयन कमजोर रहने समस्याले पनि सडक सुरक्षा चुनौतीपूर्ण बनेको छ।
प्रकाशित: ३० जेष्ठ २०८३, शनिबार