काठमाडौंका ६ क्षेत्रमा अव्यवस्थित तार हटाइने, १५ दिनभित्र व्यवस्थापन गर्न सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

  • Technology Khabar | २९ जेष्ठ २०८३, शुक्रबार
काठमाडौंका ६ क्षेत्रमा अव्यवस्थित तार हटाइने, १५ दिनभित्र व्यवस्थापन गर्न सेवा प्रदायकलाई  दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिरकरणले काठमाडौं उपत्यकाका विभिन्न ६ क्षेत्रमा टेलिफोन, इन्टरनेटलगायत दूरसञ्चार सेवाका तारहरू व्यवस्थापन गर्न सेवा प्रदायक हरुलाई निर्देशन दिएको छ।

प्राधिकरणले हालै एउटा सूचना जारी गर्दै सम्बन्धित दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूलाई त्रिपुरेश्वर–कालिमाटी–कलंकी, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–लाजिम्पाट, सामाखुसी टाउन प्लानिङ (गोंगबु), कीर्तिपुर क्षेत्र तथा पुरानो बानेश्वर–गौशाला–चाबहिल रुटहरूमा १५ दिनभित्र दैनिक रूपमा तार व्यवस्थापन गर्न निर्देशन दिएको हो।

अव्यवस्थित रूपमा पोलमा झुन्डिएको, चुँडिएको तथा लत्रिएको अवस्थाले सहरी सौन्दर्य, सार्वजनिक सुरक्षा र आवागमनमा जोखिम बढाएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले तार व्यवस्थापन अभियान सुरु गर्न  लागेको बुझिएको छ।

प्राधिकरणले  नेपाल विद्युत् प्राधिकरणको भूमिगत संरचना उपलब्ध रहेका क्षेत्रमा चरणबद्ध रूपमा अव्यवस्थित तथा प्रयोगमा नरहेका तार हटाउने र व्यवस्थापन गर्ने कार्य सञ्चालन गरिने उल्लेख गरेको छ।

साथै आफ्नो स्वामित्वमा रहेका तारमा संस्थाको स्पष्ट पहिचान खुल्ने गरी ट्याग राख्नुपर्ने व्यवस्था गरिएको छ।

सूचनाअनुसार तार व्यवस्थापनका क्रममा सम्बन्धित सेवा प्रदायकको प्रतिनिधि उपस्थित नभएको वा तारमा आवश्यक पहिचान खुल्ने ट्याग नरहेको अवस्थामा तारको पहिचान हुन नसकी काटिए, हटाइए वा अन्य क्षति भए त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित सेवा प्रदायककै हुने प्राधिकरणले स्पष्ट पारेको छ।

यसका अतिरिक्त, सेवा प्रदायकहरूले आफ्नो नेटवर्कको विकास, विस्तार, मर्मतसम्भार तथा पुनःव्यवस्थापन गर्दा प्राधिकरणद्वारा जारी “Directives for Laying and Maintaining Optical Fiber Network” अनुसार मात्र कार्य गर्नुपर्ने पनि सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित: २९ जेष्ठ २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार