
काठमाडौं ।
नेपाल टेलिकमले आफ्नो आईपीटीभी सेवा ‘एनटीटीभी’ मार्फत फिफा विश्वकप २०२६ प्रत्यक्ष प्रसारण हेर्न सकिने जनाएको छ। कम्पनीले विश्वकप हेर्न चाहने ग्राहकका लागि प्याक खरिद गर्ने प्रक्रिया सार्वजनिक गरेको हो।
टेलिकमका अनुसार ग्राहकले आफ्नो मोबाइल नम्बरमा कम्तीमा ९९९ रुपैयाँ ब्यालेन्स सुनिश्चित गरेपछि एनटीटीभीको हिमालयन स्पोर्ट्स एचडी च्यानलअन्तर्गत उपलब्ध ‘फिफा विश्वकप २०२६’ प्याक खरिद गर्न सक्नेछन्।
प्याक खरिदका लागि ‘Buy Pack’ विकल्पमा गएर विश्वकप अवधिभर हेर्न मिल्ने प्याक छनोट गर्नुपर्नेछ। त्यसपछि मोबाइल नम्बर प्रविष्ट गरी ओटीपी प्रमाणीकरण पूरा गरेपछि भुक्तानी सफल भएको सन्देश प्राप्त हुनेछ र विश्वकपका खेलहरू हेर्न सकिनेछ।

नेपाल टेलिकमले १०० एमबीपीएस वा सोभन्दा माथिको इन्टरनेटसहित प्रिमियम आईपीटीभी प्याकेज जडान गर्ने तथा सेवा नवीकरण वा स्तरोन्नति गर्ने ग्राहकले विश्वकप निःशुल्क हेर्न सक्ने व्यवस्था गरिएको पनि जनाएको छ।
एनटीटीभी सेवा जडान नगरेका ग्राहकलाई १९८ मा सम्पर्क गरी सेवा जडान गर्न कम्पनीले आग्रह गरेको छ। फिफा विश्वकप २०२६ का सम्पूर्ण खेलहरू प्रसारण अवधिभर एनटीटीभीमार्फत उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ।
प्रकाशित: २८ जेष्ठ २०८३, बिहीबार