
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले फिफा क्लब विश्वकप २०२६ का खेलहरू अनधिकृत रूपमा प्रसारण तथा स्ट्रिमिङ गरिरहेका वेबसाइटहरू रोक्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ।
प्राधिकरणको अनुमतिपत्र, श्रव्य–दृश्य अनुमगन शाखाले आज एक पत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो।
पत्रमा सूचना तथा सञ्चार मन्त्रालयको पत्रमार्फत हिमालय टेलिभिजन नेटवर्क अन्तर्गतको हिमालय स्पोर्ट्स र डिजिटल प्रालि तथा डीजीओ (डिशहोम गो) को संयुक्त उद्यम एभरेस्ट–डिजिओ ब्रोडकास्टिङ कन्सोर्टियम जेभीले क्लब विश्वकप २०२५ को नेपालभित्रको विशेष तथा आधिकारिक प्रसारण अधिकार प्राप्त गरेको उल्लेख गरिएको छ।
पत्रअनुसार केही पाइरेटेड तथा अनधिकृत वेबसाइट र एपहरूले क्लब विश्वकपका खेलहरू नेपालभित्र निःशुल्क रूपमा स्ट्रिमिङ गरिरहेको प्रचार–प्रसार भइरहेको छ। यस्ता माध्यमबाट प्रतियोगिताका खेलहरू अनधिकृत रूपमा स्ट्रिमिङ भइरहेको जानकारी प्राप्त भएकाले प्राधिकरणले यस्तो कदम चालेको हो।
सोही आधारमा प्राधिकरणले निर्णयअनुसार त्यस्ता वेबसाइट तथा एपहरूमा पहुँच रोक्न सेवा प्रदायकहरूलाई अनुरोध गरेको छ।
प्राधिकरणले रोक लगाउनुपर्ने सूचीमा ३५ वटा वेबसाइट तथा एप समावेश गरेको छ। तीमध्ये kick.com, spotifytvapp, cricfytv.to, cricfytv.net, cricfytv.com, cricfytv.pro, webcric.eu, soccertvhd.com, Streameast.app, ronaldo7.net लगायत रहेका छन्।

प्रकाशित: २८ जेष्ठ २०८३, बिहीबार