नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

  • Technology Khabar | २७ जेष्ठ २०८३, बुधबार
नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम
काठमाडौँ, २६ जेठः नवनियुक्त मन्त्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन मङ्गलबार सिंहदबारस्थित मन्त्रालयमा कर्मचारी निर्देशन दिनुहुँदै । तस्बिरः गोपाल दाहाल÷रासस

काठमाडौं ।

नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत र नीतिगत काम सुरू गरेको छ ।

नेपाल सरकारको पछिल्लो कार्यविभाजनबाट साविक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान तथा प्रविधि हटाएर नवप्रवर्तन थपेर विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना भएको हो । यस मन्त्रालयमा स्वतन्त्र सांसद महावीर पुनले मङ्गलबारदेखि मन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका छन्।

मन्त्रालयका सचिवका रूपमा इञ्जिनियरिङ सेवाका प्रमिला बज्राचार्यले पनि केही दिनअघि जिम्मेवारी पाएका थिइन्। सचिव बज्राचार्यले मन्त्रालयले सिंहदरबारस्थित साविक युवा तथा खेलकुद मन्त्रालयको कार्यालयबाट काम सुरू गरेको जानकारी दिइन्। मन्त्री पुनले नयाँ मन्त्रालयले शून्यबाट काम थाल्नुपर्ने भएकाले पदबहालीपश्चात् मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्ने निर्णय गरेका थिए।

सचिव बज्राचार्यले मन्त्री पुनले भने झैँ आफूहरूले शून्यबाट सुरु गरेको बताउँदै मन्त्रालयको वेबसाइटको नमुना (टेम्प्लेट) तयार गरेर सूचना प्रविधि विभागलाई दिइसकिएकाले प्रणालीगत कारणले ७२ घण्टापछि अपलोड हुने जानकारी आएको बताइन।

नवप्रवर्तन मन्त्रालयमा हाल दरबन्दी २४ जना कर्मचारीले काम गर्दैछन् भने नयाँ सङ्गठन संरचना बनेपछि सङ्ख्या बढ्ने जनाइएको छ। मन्त्री पुन मन्त्रालयमै सरकारी निवास कायम गर्नेगरी आजदेखि सिंहदरबारमा सरेका छन्। रासस

प्रकाशित: २७ जेष्ठ २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार