
काठमाडौं ।
एआई चिपको अत्यधिक मागका कारण मेमोरी चिपको मूल्य तीव्र रूपमा बढ्दै गएको र यसले “चिपफ्लेसन” को जोखिम सिर्जना गरिरहेको भन्दै मोर्गन स्ट्यान्लीका विश्लेषकहरूले चेतावनी दिएका छन्।
यसले स्मार्टफोनदेखि पीसीसम्मका उपकरण निर्माता कम्पनीहरूलाई मूल्य बढाउने वा कम नाफामा सम्झौता गर्ने विकल्प रोज्न बाध्य बनाइरहेको छ।
ब्रोकरेज कम्पनीले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा मेमोरी चिपको मूल्य गत एक वर्षमा छ गुणासम्म बढेको जनाएको छ। उत्पादकहरूले ठूला प्रविधि कम्पनीहरूको एआई पूर्वाधारमा भएको भारी खर्चका कारण बढेको माग पूरा गर्न संघर्ष गरिरहेका छन् र दैनिक प्रयोगका उपकरणमा प्रयोग हुने चिपभन्दा बढी नाफा दिने डाटा सेन्टर चिपलाई प्राथमिकता दिइरहेका छन्।
मोर्गन स्ट्यान्लीले ६६ पृष्ठको प्रतिवेदनमा भनेको छ, “एआई पूर्वाधारको अवरोधका रूपमा सुरु भएको समस्या अहिले हार्डवेयरको नाफा, उपकरणको पहुँचयोग्यता, क्लाउड लागत, मुद्रास्फीति र नीतिमा फैलिन थालेको छ।” कम्पनीले यस अवस्थालाई “वृहत्तर आर्थिक चिन्ताको विषय” बनेको उल्लेख गरेको छ।
केही चिप निर्माता कम्पनीहरूले उत्पादन क्षमता विस्तार गरिरहेका भए पनि नयाँ उत्पादन प्लान्ट स्थापना गर्न लाग्ने लागत र जटिलताका कारण त्यसको प्रभाव देखिन वर्षौं लाग्न सक्ने विश्लेषकहरूले बताएका रोयटर्सले उल्लेख गरेको छ।
मोर्गन स्ट्यान्लीका अनुसार अघिल्ला उतारचढावयुक्त चक्रभन्दा फरक, हालको मूल्यवृद्धि दीर्घकालीन आपूर्ति–माग सन्तुलन परिवर्तनको संकेत हुन सक्छ। ठूला क्लाउड र एआई कम्पनीहरूले दीर्घकालीन सम्झौतामार्फत उत्पादन क्षमता सुनिश्चित गरिरहेका कारण परम्परागत खरिदकर्ताहरू सीमित र अस्थिर आपूर्ति स्रोतका लागि प्रतिस्पर्धा गर्न बाध्य भएका छन्।
प्रतिवेदनमा उपभोक्ता मुद्रास्फीतिमा प्रत्यक्ष प्रभाव सीमित हुन सक्ने भए पनि यसको दबाब उत्पादक मूल्य, कम्पनीहरूको नाफा, क्लाउड सेवा लागत, पूँजीगत खर्च तथा नयाँ प्रविधिको कार्यान्वयनमा ढिलाइका रूपमा देखिन थालेको उल्लेख गरिएको छ।
प्लेस्टेसन निर्माता सोनी ग्रुपदेखि पीसी निर्माता लेनोभोसम्मका उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनीहरूले मूल्य बढाइसकेका छन्। त्यस्तै ठूला प्रविधि कम्पनीहरूले मेमोरी चिपको मूल्यवृद्धिका कारण अर्बौं डलर अतिरिक्त खर्च हुने चेतावनी दिएका छन्।
उदाहरणका लागि माइक्रोसफ्टले अप्रिलमा यस वर्षको १९० अर्ब डलर खर्चमध्ये करिब २५ अर्ब डलर उच्च चिप मूल्यका कारण हुने जनाएको थियो।
अनुसन्धान संस्था आईडीसीले मूल्यवृद्धिका कारण सम्भावित खरिदकर्ताहरू निरुत्साहित हुने भएकाले सन् २०२६ मा पीसी र स्मार्टफोन बजार दुवै उल्लेख्य रूपमा खुम्चिने अनुमान गरेको छ।
मोर्गन स्ट्यान्लीका अनुसार “मेमोरी उत्पादकहरूले उच्च मूल्य, बढी नाफा र बजारको स्पष्टता पाउँछन्। तर हार्डवेयर कम्पनीहरूले लागत आफैं व्यहोर्नुपर्ने, ग्राहकमा सार्नुपर्ने, उत्पादन पुनः डिजाइन गर्नुपर्ने वा माग घट्ने जोखिम सामना गर्नुपर्ने हुन्छ।”
प्रतिवेदनले डाइनामिक मेमोरी चिप निर्माता सामसङ इलेक्ट्रोनिक्स, एसके हाइनिक्स र माइक्रोनलाई उल्लेख गरेको छ। यी कम्पनीहरूले विश्वको करिब ९० प्रतिशत मेमोरी चिप उत्पादन नियन्त्रण गर्छन् र यस वर्ष उनीहरूको शेयर मूल्य तीन गुणाभन्दा बढी बढेको छ।
ब्रोकरेजका अनुसार चिप र निर्यात नियन्त्रणसम्बन्धी अमेरिका–चीन तनावले आपूर्ति शृंखला खण्डित बनाउँदै आपूर्ति थप कडा बनाइरहेको छ। साथै सरकारी अनुदानले पनि तत्काल राहत दिन नसक्ने, किनभने नयाँ उत्पादन क्षमता विकास हुन समय लाग्ने बताइएको छ।
प्रकाशित: २१ जेष्ठ २०८३, बिहीबार