
काठमाडौं ।
टिकटकलाई सामान्यतया सामाजिक सञ्जाल प्लेटफर्मका रूपमा चिनिए पनि कम्पनीले बिस्तारै त्यस सीमाभन्दा बाहिर आफ्नो सेवा विस्तार गर्दै आएको छ।
समयसँगै यसले टिकटक शप, स्थानीय स्थान खोज्न मिल्ने नक्सा, शक्तिशाली खोज सुविधा, गेम्सलगायत धेरै सेवा थपेको छ। हालै कम्पनीले होटल बुकिङ सुविधा पनि सुरु गरेको छ भने फिनटेक लाइसेन्स प्राप्त गर्ने प्रयासमा पनि लागेको छ।
यसले टिकटकलाई “सुपर एप” मा रूपान्तरण गर्ने दिशामा काम गरिरहेको संकेत देखिएको छ। सुपर एप भनेको प्रयोगकर्ताले भिडियो हेर्न र साझा गर्न मात्र नभई विभिन्न डिजिटल आवश्यकता एउटै प्लेटफर्मबाट पूरा गर्न सक्ने एप हो।
सुपर एपको अवधारणा चीनमा निकै लोकप्रिय छ। उदाहरणका लागि वीच्याटले सामाजिक सञ्जाल, सन्देश सेवा, भुक्तानी र एप स्टोरजस्ता सुविधा एउटै प्लेटफर्ममा उपलब्ध गराउँछ। चीनबाहिर यो मोडल सफल हुन्छ वा हुँदैन भन्ने प्रश्न रहे पनि टिकटकले त्यस दिशामा प्रयास गरिरहेको देखिन्छ।
जनवरीमा मुख्यतः अमेरिकी स्वामित्वमा पुगेको टिकटकले आफ्नो सबैभन्दा ठूलो विस्तार टिकटक शपमार्फत गरेको थियो। कम्पनीले हालका नयाँ सेवाहरूमा पनि त्यही रणनीति अपनाइरहेको छ।
यसै महिना टिकटकले अमेरिकामा टिकटक गो नामक सुविधा सुरु गरेको छ। यसमार्फत प्रयोगकर्ताले होटल, पर्यटकीय आकर्षण र विभिन्न अनुभवहरू एपभित्रै खोज्न र बुक गर्न सक्छन्। भिडियो, खोज नतिजा र स्थानसम्बन्धी पृष्ठमार्फत होटल तथा घुम्ने स्थानहरू देखाइन्छन्। प्रयोगकर्ताले विवरण हेर्न, उपलब्धता जाँच्न र बुकिङ पूरा गर्न सक्छन्।
यसअघि भिडियोमा देखिएका गन्तव्य वा सिफारिसहरू हेरेपछि प्रयोगकर्तालाई अन्य वेबसाइटमा पठाइन्थ्यो। अब टिकटकले भाइरल यात्रा सामग्रीलाई प्रत्यक्ष बुकिङ र आम्दानीसँग जोड्ने एकीकृत प्लेटफर्म बन्ने प्रयास गरिरहेको छ।
धेरै प्रयोगकर्ताले पहिले नै टिकटकलाई खोज इन्जिनका रूपमा प्रयोग गर्न थालेका छन्। होटल बुकिङ सेवाको सुरुवातसँगै कम्पनीले गुगलको खोज र नक्सा सेवासँग अझ प्रत्यक्ष प्रतिस्पर्धा गर्न थालेको छ। अब टिकटकले स्थान खोज्ने मात्र नभई यात्रा खरिद गर्ने प्लेटफर्म बन्ने लक्ष्य राखेको छ।
केही साताअघि ब्राजिलको केन्द्रीय बैंकमा टिकटकले ऋण तथा भुक्तानी सेवा उपलब्ध गराउने वित्तीय प्रविधि कम्पनीका रूपमा सञ्चालन अनुमति मागेको समाचार सार्वजनिक भएको थियो।
कम्पनीले दुईवटा लाइसेन्सका लागि आवेदन दिएको छ। पहिलो लाइसेन्सले प्रयोगकर्तालाई रकम भण्डारण गर्न, प्राप्त गर्न र भुक्तानी गर्न मिल्ने प्रिपेड खाता सेवा सञ्चालन गर्न अनुमति दिनेछ। दोस्रो लाइसेन्सले कम्पनीलाई प्रत्यक्ष ऋणदाता वा ऋणी र ऋणदातालाई जोड्ने प्लेटफर्मका रूपमा काम गर्न अनुमति दिनेछ।
यस कदमले टिकटक सामाजिक सञ्जालभन्दा बाहिर गएर पूर्ण डिजिटल इकोसिस्टम निर्माण गर्ने दिशामा अघि बढिरहेको देखाउँछ। वित्तीय सेवा एपभित्रै ल्याएर कम्पनीले प्रयोगकर्ताको संलग्नता बढाउने, नयाँ आम्दानी स्रोत सिर्जना गर्ने तथा फिनटेक र ई–कमर्स कम्पनीहरूसँग प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको छ।
सामाजिक सञ्जालभन्दा बाहिर टिकटकको सबैभन्दा ठूलो विस्तार टिकटक शपलाई मानिन्छ। कम्पनीले सन् २०२१ मा परीक्षण सुरु गरी सन् २०२३ मा अमेरिकामा टिकटक शप सार्वजनिक गरेको थियो। त्यसयता यसले अमेजन, शेइन लगायतका अनलाइन बजारसँग सफल प्रतिस्पर्धा गरिरहेको छ।
ईमार्केटरका अनुसार टिकटक शपको अमेरिकी बिक्री सन् २०२४ मा ४०७ प्रतिशतले र २०२५ मा थप १०८ प्रतिशतले बढेर १५.८२ अर्ब डलर पुगेको छ। गत वर्ष अमेरिकाको कुल सामाजिक वाणिज्य कारोबारमध्ये १८.२ प्रतिशत हिस्सा टिकटक शपको थियो, जुन २०२७ सम्म २४.१ प्रतिशत पुग्ने अनुमान गरिएको छ।
गत वर्षको अन्त्यतिर टिकटकले उपहार कार्ड सेवा पनि सुरु गरेको थियो। साथै, सुरुवातमा सस्तो सामानका लागि परिचित टिकटक शप अहिले लक्जरी खुद्रा व्यापारतर्फ पनि विस्तार भएको छ।
संगीत क्षेत्रमा पनि टिकटकको प्रभाव उल्लेखनीय छ। नयाँ संगीत खोज्ने तरिकामै परिवर्तन ल्याएको टिकटकले सन् २०२३ मा टिकटक Music सेवा सुरु गरेर स्पोटिफाई र एप्पल म्युजिकसँग प्रतिस्पर्धा गर्ने प्रयास गरेको थियो। तर एक वर्षपछि उक्त सेवा बन्द गरिएको थियो।
यद्यपि कम्पनीले संगीतसम्बन्धी महत्वाकांक्षा पूर्ण रूपमा त्यागेको छैन। हालै टिकटकले एप्पल म्युजिक सदस्यहरूलाई “फर यू” फिडमा फेला परेका गीत एपभित्रै पूरा सुन्न मिल्ने सुविधा थपेको छ।
टेकक्रञ्चका अनुसमर टिकटकले नक्सा, स्थानीय ह्यासट्याग र समीक्षासहितको खोज अनुभव पनि विकास गरेको छ। यसले प्रयोगकर्तालाई लोकप्रिय रेस्टुरेन्ट, यात्रा गन्तव्य, पसल तथा स्थानीय अनुभवहरू खोज्न सहयोग गर्छ। स्थान र रेस्टुरेन्टसम्बन्धी पृष्ठहरूमा खुल्ने समय, तारा मूल्याङ्कन, मूल्य दायरा लगायतका विस्तृत जानकारी पनि उपलब्ध गराइन्छ।
पहिलेदेखि नै टिकटकले खोज सेवामा गुगललाई चुनौती दिइरहेको थियो। भिडियोमार्फत रेस्टुरेन्ट र विभिन्न स्थानका दृश्य तथा अनुभव देखाएर प्रयोगकर्तालाई आकर्षित गरिन्थ्यो। तर ठेगाना वा समीक्षा हेर्नका लागि प्रयोगकर्ताले अझै गुगल प्रयोग गर्नुपर्थ्यो। पछिल्ला वर्षहरूमा टिकटकले यी विवरणहरू आफ्नै एपभित्र समावेश गर्दै त्यो आवश्यकता घटाएको छ।
प्रयोगकर्ताद्वारा सिर्जित मनोरञ्जन सामग्रीका लागि परिचित टिकटकले माइक्रोड्रामा क्षेत्रमा पनि प्रवेश गरेको छ। कम्पनीले एपभित्र मिनिस खण्ड र छोटो टेलिभिजन शृंखला हेर्न मिल्ने छुट्टै एप सार्वजनिक गरेको छ, जहाँ एक मिनेटका एपिसोडमा आधारित सामग्री उपलब्ध हुन्छ।
यसअघि नै टिकटकले प्रयोगकर्ताको ध्यानका लागि नेटफ्लिक्सजस्ता स्ट्रिमिङ सेवासँग प्रतिस्पर्धा गरिरहेको थियो। अब कथामा आधारित कार्यक्रमतर्फ विस्तारसँगै प्रतिस्पर्धा अझ प्रत्यक्ष बनेको छ।
टिकटकले लाइभ स्ट्रिमिङ र लामो भिडियोको समर्थन सुरु गरेपछि मनोरञ्जन क्षेत्रमा थप विस्तार भएको थियो। यो यसको प्रारम्भिक १५ सेकेन्डका भिडियोमा केन्द्रित रणनीतिभन्दा ठूलो परिवर्तन थियो।
कम्पनीले एपभित्र सामान्य खेलहरू पनि थपेको छ, जसले प्रयोगकर्तालाई थप समय टिकटकमै बिताउन र साथीहरूसँग प्रत्यक्ष सन्देशमार्फत अन्तरक्रिया गर्न प्रोत्साहित गर्छ। यसले टिकटकलाई केवल सामाजिक सञ्जाल नभई भिडियो, खेल र अन्य डिजिटल सेवाहरू एउटै स्थानमा उपलब्ध गराउने मनोरञ्जन प्लेटफर्म बनाउने प्रयासलाई देखाउँछ।
प्रकाशित: १८ जेष्ठ २०८३, सोमबार