
काठमाडौं ।
यूरोपेली आयोगले २ गिगाहर्ज मोबाइल स्याटेलाइट सेवा (एमएसएस) ब्यान्डको प्रयोगसम्बन्धी आफ्नो लामो समयदेखि प्रतिक्षा गरिएको योजना सार्वजनिक गरेको छ।
प्रस्तावअनुसार उक्त स्पेक्ट्रमको अधिकांश हिस्सा विदेशी कम्पनीको पहुँचबाहिर राखिने भएकाले स्टारलिङ्क र अमेजनको लो-अर्थ अर्बिट (एलईओ) स्याटेलाइट परियोजनालाई यसले असर पार्न सक्ने देखिएको छ।
प्रविधि सार्वभौमिकता, सुरक्षा तथा लोकतन्त्रसम्बन्धी कार्यकारी उपाध्यक्ष हीना बिर्कुनेनले स्पेक्ट्रमको एक तिहाइ हिस्सा सरकारी प्रयोजनका लागि छुट्याउने प्रस्ताव गरेकी छन्। यसमा महत्वपूर्ण सञ्चार सेवा, सुरक्षा तथा सैन्य प्रयोजन समावेश हुनेछन्।
यो हिस्सा एकल सञ्चालकलाई इजाजतपत्रमार्फत दिइनेछ र उक्त नेटवर्कलाई युरोपेली संघको सरकारी निकायका लागि निर्माण भइरहेको बहु-कक्षीय स्याटेलाइट प्रणाली आईरिस२ सँग एकीकृत गर्नुपर्नेछ।
अर्को एक तिहाइ हिस्सा यूरोपेली संघभित्रका कम्पनीहरूको व्यावसायिक प्रयोगका लागि छुट्याइने प्रस्ताव गरिएको छ। यसको उद्देश्य स्याटेलाइट सेवा बजारमा नयाँ आपूर्तिकर्ताहरूको प्रवेशलाई प्रोत्साहन गर्नु रहेको आयोगले जनाएको छ।
बाँकी रहेको एक तिहाइ हिस्सा भने यूरोपेली संघभित्रका र बाहिरका कम्पनी दुवैका लागि खुला रहने टेलिकम्स डटकमले उल्लेख गरेको छ।
भिर्कुनेनले उच्च क्षमता र व्यापक पहुँच भएको स्याटेलाइट कनेक्टिभिटी युरोपेली संघका सञ्चार सञ्जालहरूको लचिलोपन मजबुत बनाउन झन् आवश्यक बन्दै गएको बताइन्।
उनका अनुसार प्रस्ताव कार्यान्वयन भएमा स्याटेलाइट र स्थलीय नेटवर्कमार्फत सिधै मोबाइल उपकरणमा सेवा उपलब्ध गराउन सकिनेछ, जसले स्थलीय नेटवर्क नपुगेका क्षेत्रहरूमा समेत भ्वाइस र ब्रडब्यान्ड इन्टरनेट सेवा पुर्याउन मद्दत गर्नेछ।
उनले सरकारी सेवा तथा युरोपका महत्वपूर्ण सञ्चार प्रणालीका लागि पनि स्याटेलाइट कनेक्टिभिटी अत्यन्त महत्वपूर्ण रहेको बताइन्।
यो प्रस्ताव स्थापित कम्पनीहरूका लागि मात्र नभई नयाँ स्टार्टअपहरूका लागि पनि सकारात्मक मानिएको छ। उदाहरणका रूपमा फ्रान्सको युनिभिटीले अत्यन्त न्यून पृथ्वी कक्ष (भीएलईओ) मा सञ्चालन गर्न सक्ने स्याटेलाइट समूह विकास गरिरहेको छ। त्यसैगरी बेल्जियमको ईडीजीएक्सले पनि स्पेसएक्स जस्तै कक्षीय एज कम्प्युटिङ बजारमा प्रवेश गर्ने योजना बनाएको छ।
यस्ता कम्पनीहरूलाई स्टारलिंकसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्न कठिन हुन सक्ने भए पनि प्रस्ताव कार्यान्वयन भएमा उनीहरूको सम्भावना बढ्ने विश्लेषण गरिएको छ।
यद्यपि, यी प्रस्तावहरूलाई अमेरिकी कम्पनीहरूले सकारात्मक रूपमा नलिन सक्ने अनुमान गरिएको छ।
युरोपेली संघले घरेलु कम्पनीहरूको हित संरक्षण गर्दै आफ्ना प्रमुख व्यापारिक साझेदार अमेरिका र चीनलाई असन्तुष्ट नबनाउने प्रयास गरिरहेको छ। स्याटेलाइट स्पेक्ट्रम नीतिमा भने आयोग स्पष्ट रूपमा युरोपेली कम्पनीहरूको पक्षमा देखिएको छ।
इनल मस्क, जेप बेजोस तथा ब्रेण्डन कारले यसबारे सार्वजनिक प्रतिक्रिया दिन सक्ने अपेक्षा गरिएको छ।
हाल २ गिगाहर्ज एमएसएस ब्यान्ड भायास्याट र इकोस्टारले प्रयोग गरिरहेका छन्। उनीहरूको इजाजतपत्र मे २०२७ सम्म कायम रहने भएकाले सम्बन्धित सबै पक्षसँग युरोपेली संघको प्रस्तावबारे आफ्नो धारणा व्यक्त गर्न पर्याप्त समय रहनेछ।
प्रकाशित: १८ जेष्ठ २०८३, सोमबार