
काठमाडौं ।
एप्पलले आईफोनको लागि नयाँ एन्टी–थेफ्ट सुविधा सक्रिय रूपमा विकास गरिरहेको नयाँ रिपोर्टले खुलासा गरेको छ। यो सुविधाले प्रयोगकर्ताबाट चोरी भएको अवस्थामा डिभाइसलाई सुरक्षित राख्न मद्दत गर्ने उल्लेख गरिएको छ।
नयाँ एन्टी–स्न्याच सुविधाले आईफोनलाई अचानक स्न्याचिङ मोसन ((खोसेर चोरी भएको गति) पत्ता लगाएमा स्वचालित रूपमा लक गर्न अनुमति दिने रिपोर्टले दाबी गरेको छ।
एप्पलको आगामी सुविधाले एन्ड्रोइडको अवस्थित थेफ्ट डिटेक्शन लक सुविधाले जस्तै काम गर्ने बताइएको छ। यो सुविधाले स्न्याचिङ (खोसेर हुने चोरी) सँग सम्बन्धित अचानक चालहरू पत्ता लगाउन आईफोनको एक्सेलेरोमिटरमा भर पर्ने रिपोर्टमा उल्लेख गरिएको छ। साथै प्रणालीले डिभाइस चोरी भएको पत्ता लगायो खण्डमा आईफोन स्वचालित रूपमा लक हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
त्यसैगरी, एप्पलले आकस्मिक लकआउटहरू रोक्नको लागि स्टोलन डिभाइस प्रोटेक्सनमा पाइने समान सुरक्षा उपायहरू प्रयोग गरिरहेको बताइएको छ। प्रणालीले आईफोन विश्वसनीय वा घरको वाइफाइ नेटवर्कमा जडान भएको छ कि छैन, वा यो परिचित स्थानमा छ कि छैन भनेर जाँच गर्ने भनिएको छ। यस्तो अवस्थामा, डिभायसले स्वतः लक हुने सुविधा ट्रिगर गर्नबाट बच्न सक्ने उल्लेख गरिएको छ।
रिपोर्टका अनुसार, यो सुविधा कहिलेदेखि आईफोनहरूमा उपलब्ध हुन्छ भन्ने बारेमा हाल कुनै जानकारी उपलब्भ नभएको उल्लेख गरिएको छ।
प्रकाशित: १७ जेष्ठ २०८३, आईतवार