
काठमाडौं ।
गुगलले यसै महिनाको सुरुआतमा स्क्रिन नभएको आफ्नो पहिलो फिटनेस ट्र्याकर फिटबिट एयर सार्वजनिक गरेको थियो। अहिले यसलाई प्रि-अर्डर गरेका प्रयोगकर्ताहरूले डेलिभरी पाउन थालेको रिपोर्ट आएका छन्।
यो उपकरणको आधिकारिक बिक्री आज अर्थात् मे २६ का लागि तय गरिएको छ। प्रि-अर्डर पनि त्यही दिनदेखि मात्र ग्राहकसम्म पुग्ने अपेक्षा गरिएको थियो।
तर केही ग्राहकले उपकरण अपेक्षाभन्दा छिट्टै पाएका छन्। सम्भवतः गुगलले अनुमान गरेभन्दा एक दिनअघि डेलिभरी पुगेका कारण एन्ड्रोइड फोन प्रयोगकर्ताले पेयरिङ समस्या भोगिरहेका छन्।
फिटबिट एयरलाई नयाँ गुगल हेल्थ एपको ५.० संस्करण आवश्यक पर्छ । तर यो अपडेट अझै सबै उपकरणमा उपलब्ध भइसकेको छैन। गुगलले एप पेयरिङ समस्या पुष्टि गर्दै यसलाई समाधान गर्ने काम भइरहेको जनाएको छ।
जीएसएमएरिनाका अनुसार प्रयोगकर्ताले वेयरेबल पेयर गर्न खोज्दा गुगल हेल्थ एपको अपडेट गरिएको संस्करण आवश्यक रहेको सन्देश देखिन्छ। तर उक्त अपडेट कतिपय प्रयोगकर्ताको फोनमा अझै उपलब्ध छैन ।
रेडिटमा एक प्रयोगकर्ताको समस्याको जवाफ दिँदै गुगलको प्रोडक्ट टिमका एक प्रतिनिधिले एन्ड्रोइडमा अपडेट गरिएको एपको वितरण छिटो गर्न कम्पनीले प्रयास गरिरहेको बताएका छन् । उनले यो अपडेट “छिट्टै उपलब्ध हुने” बताएका छन्।
रोचक कुरा के भने यो समस्या आईओएसमा भने देखिएको छैन, जहाँ आवश्यक अपडेट पहिले नै उपलब्ध भइसकेको छ।
प्रकाशित: १३ जेष्ठ २०८३, बुधबार