ताजा समाचार

तथ्याङ्कमा आधारित पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउँछ : मुख्यमन्त्री पाण्डे

तथ्याङ्कमा आधारित पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउँछ : मुख्यमन्त्री पाण्डे
मुख्यमन्त्री पाण्डे मन्तव्य कास्की,१ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रेस रजिष्ट्रारको कार्यालयले आयोजना गरेको तथ्याङ्क पत्रकारिता तालिमको समापन कार्यक्रममा शुक्रबार पोखरामा मन्तव्य व्यक्त गर्नुहुँदै । तस्बिर ः कृष्ण दवाडी,रासस
Global IME Bank

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तथ्य र तथ्याङ्कमा आधारित पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउने बताएको छ।

प्रेस रजिष्टारको कार्यालय गण्डकी प्रदेशको आयोजनामा सञ्चालित आठ हप्ता समयावधिको डेटा ड्रिभन जर्नालिज्म (तथ्याङ्क पत्रकारिता) तालिमको आज आयोजित समापन समारोहमा उहाँले तथ्यपरक पत्रकारिता यथार्थपरक हुने बताए।

“अबको युग भनाइको होइन, तथ्य र प्रमाणको हो। तथ्याङ्कले कहिल्यै झुट बोल्दैन”, उनले भने, “जब एउटा पत्रकारले सरकारका रातो किताब, महालेखाका प्रतिवेदन र विकासका अङ्कहरूलाई केलाएर समाचार लेख्छ, तब मात्र समाजको वास्तविक चित्र छर्लङ्ग हुन्छ। यो तालिमले सञ्चारकर्मीलाई भनाइबाट तथ्य तिर डोर्याउने एउटा महत्त्वपूर्ण प्रस्थान विन्दुको काम गरेको छ।”

तालिमबाट दीक्षित भएका १८ जना पत्रकारहरू अब गण्डकी प्रदेशका लागि डेटा फोकल पर्सन भएको उल्लेख गर्दै उनले भने, “उनीहरूले अब न्युजरुममा गएर कसले के भन्यो भन्दा पनि अङ्कले के देखायो भन्ने तथ्यमा आधारित पत्रकारिता गर्नेछन्।”

प्रेस रजिष्ट्रारको कार्यालय केवल सञ्चार माध्यमलाई अनुगमन गर्ने वा नियमन गर्ने निकाय मात्र नभै समग्र सञ्चार क्षेत्र र सञ्चारकर्मीहरूको क्षमता विकास गर्ने एउटा अभिभावक संस्था भएको उनको भनाइ छ । गण्डकी प्रदेशका निमित्त प्रमुख सचिव कृष्णप्रसाद लम्सालले नतिजामुखी क्षमता अभिबृद्धिका तालिम प्राथमिकतामा राखिने बताए।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले सरकारले पत्रकारिता क्षेत्रको विकासका लागि बजेट विनियोजन गर्न सरकार समक्ष आग्रह गरे। प्रमुख प्रशिक्षक उमेश श्रेष्ठ, प्रशिक्षार्थीहरू श्रीधर उपाध्याय, खिमा गुरुङ, प्रकाश ढकाल लगायतको सहभागिता थियो। रासस

Sajilo Visa
easy care