
काठमाडौं ।
बागलुङ जिल्लाको बडिगाड गाउँपालिका-२, खर्बाङमा रहेको ७५ किलोवाट क्षमताको गिरिङ्दी खोला लघुजलविद्युत् आयोजनाबाट उत्पादित अतिरिक्त बिजुली प्रयोग गरी हरित हाइड्रोजन ग्यास उत्पादन र खाना पकाउने प्रविधि विकास नमुना परियोजना शुरु भएको छ।
गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले आयोजनाबाट सुरू गरिएको हरित हाइड्रोजन ग्यास उत्पादन र खाना पकाउने प्रविधि विकास नमुना परियोजनाको शुक्रबार उद्घाटन गरे।
नेपाल इनर्जी फाउण्डेशन (एनईएफ) सहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको सहकार्यमा उक्त नमुना परियोजना सुरू गरिएको हो। परियोजना फाउन्डेसनको नेतृत्व, काठमाडौँ विश्वविद्यालयको ग्रीन हाइड्रोजन ल्याबको प्राविधिक सहयोग, र इन्नोभेट यूकेको इनर्जी क्याटालिस्ट कार्यक्रमको आर्थिक सहयोगमा सञ्चालित छ।
यो परियोजनामार्फत साना जलविद्युत् आयोजनाहरूमा दिउँसो खपत नभई खेर जाने बिजुली (करिब ६०-७० किलोवाट) को सदुपयोग गर्दै हाइड्रोजन उत्पादन गर्ने र स्थानीय रूपमा खाना पकाउन (एलपीजी र दाउराको विकल्पमा) प्रयोग गर्ने योजना छ।
यसमा ‘इलेक्ट्रोलाइसिस’ प्रविधिद्वारा पानीलाई हाइड्रोजन र अक्सिजनमा विभाजन गरी हरित हाइड्रोजन ग्यास उत्पादन गरिन्छ।
परियोजनाले १५ घरधुरीमा हाइड्रोजन चुलो मार्फत खाना पकाउने योजना बनाएको छ, जसका लागि विशेष हाइड्रोजन स्टोभ विकास गरिएको छ।
प्रकाशित: १ जेष्ठ २०८३, शुक्रबार