एआईमा आधारित कल सेन्टर सुरु, एकैपटक १५ जनाले सम्पर्क गर्न सकिने

  • Technology Khabar | १ जेष्ठ २०८३, शुक्रबार
एआईमा आधारित कल सेन्टर सुरु, एकैपटक १५ जनाले सम्पर्क गर्न सकिने
सांकेतिक तस्बिर। एआईको सहयोगमा तयार पारिएको।

काठमाडौं ।

काठमाडौँ महानगरपालिकाले एकैपटक १५ जनासँग सम्पर्क गर्न सकिने संवादात्मक कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित कल सेन्टर सुरु गरेको छ।

स्मार्ट वडा बनाउने भन्दै कामपा वडा नम्बर १७ ले एआईको सहयोगमा नागरिकलाई वडासँग जोड्ने कार्य गर्नका लागि उक्त सेवा सञ्चालन गरेको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

प्रवक्ता मानन्धरका अनुसार ०१ ५९७१९८९ मा फोन डायल गरेपछि महिलाको स्वर सुनिन्छ। उनले भन्छिन्, “काठमाडौँ वडा १७ को एआई सेवामा स्वागत छ । म तपाईलाई आज कसरी सहयोग गर्न सक्छु?” यति आवाज आएपछि बोल्ने पालो तपाईँको। तपाईँ वडाबाट कस्तो सूचना लिन चाहनुहुन्छ ? त्यो बोलेपछि एआईले जवाफ फकाउँछ।

यदि एआईसँग जवाफ रहेछ भने तत्काल सोधेको प्रश्नको उत्तर दिनेछ । यदि जवाफ रहनेछ भने भन्नेछ, माफ गर्नुहोस् । म यो प्रश्नको जवाफ दिन असमर्थ छु । म तपाईँलाई हाम्रो एजेन्टसँग जोड्दैछु। यति भनेपछि कल वडाका कर्मचारीलाई पठाउँछ।

वडाले वडावासी र सेवाग्राहीलाई सेवा र सूचनासँग जोड्न एआई प्रविधिमा आधारित कल सेन्टर सञ्चालनमा ल्याएपछि वडासँग सम्बन्धित प्रश्नको जवाफ फोनबाटै प्राप्त गर्न सकिन्छ । प्रणाली सञ्चालनका विषयमा कुरा गर्दै प्रवक्ता एवं वडा १७ का अध्यक्ष नविन मानन्धर भन्छन, “स्मार्ट वडा बनाउने क्रममा छौँ । सेवासम्बन्धी सूचना दिनु आधारभूत कुरा हो । प्रक्रिया  अनलाइन प्रणालीमा आधारित बनाएर सर्भिस डेलिभरी टु होम कन्सेप्टमा अगाडि बढेका छौँ ।”

नागरिकतासम्बन्धी सिफारिसको विषयलाई उदाहरण दिँदै उनले भने, “नागरिकता सिफारिसका लागि चाहिने कागजागत र प्रमाणका विषयमा सेवाग्राहीलाई जानकारी भयो भने सबै डकुमेन्ट लिएर आउनुहुन्छ। डकुमेन्ट के चाहिन्छ भन्ने बुझ्न थप एकपटक वडामा आइरहनुपर्दैन।”

नागरिक वडापत्रमा भएका सबै विषयको एआईले जवाफ दिन सक्छ। १५ जनाले एकैपटक फोन गर्दा जवाफ दिन सक्छ। ज्येष्ठ नागरिक भत्ता वितरण वडाले प्रदान गर्ने सेवासम्बन्धी सूचनालाई अडियो र टेक्स्टमा एकैपटक सेवाग्राहीलाई प्रदान गर्न सकिन्छ। पठाएको सूचना कसले पढ्यो। कसले सुन्यो। सुनेको हो भने कति समय सुन्यो। जस्ता विवरण हेर्न सकिन्छ। कुन क्षेत्रमा वा कुन विषयमा कस्ता गुनासा आए भन्ने तथ्याङ्क विश्लेषण गर्न सकिन्छ। रासस

प्रकाशित: १ जेष्ठ २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार