
काठमाडौं ।
फिनल्याण्डको नेटवर्क उपकरण निर्माता नोकियाले आफ्नो मोबाइल इन्फ्रास्ट्रक्चर डिभिजनको नेतृत्वका लागि नयाँ प्रमुख नियुक्त गरेको छ।
एम्मा फाल्कलाई कम्पनीको मोबाइल इन्फ्रास्ट्रक्चर डिभिजनको अध्यक्ष बनाइएको हो। यो नोकियाका दुई मुख्य डिभिजनमध्ये एक हो। उनको नियुक्ति अघिल्लो प्रमुख टोम्मी उइट्टोले कम्पनीको मोबाइल रणनीतिसम्बन्धी असहमतिका कारण पद छोडेको ६ महिनापछि भएको हो। फाल्क यसअघि जर्मनीको इन्जिनियरिङ कम्पनी सिमेन्समा स्मार्ट इन्फ्रास्ट्रक्चर बिल्डिङ्स विभागकी कार्यकारी सहायक ईभीपी थिइन्।
फाल्कसँग परम्परागत दूरसञ्चार क्षेत्रको धेरै अनुभव नभए पनि उनले इन्जिनियरिङ फिजिक्समा पीएचडी गरेकी छन्। त्यसैले प्राविधिक पक्ष बुझ्न उनलाई धेरै समय नलाग्ने अपेक्षा गरिएको छ। स्मार्ट इन्फ्रास्ट्रक्चर क्षेत्रमा उनको अनुभवले नोकियाले दूरसञ्चार क्षेत्रभन्दा बाहिर पनि आफ्नो मोबाइल व्यवसाय विस्तार गर्न खोजेको संकेत गरेको छ।
“म एम्मालाई नोकियामा स्वागत गर्न पाउँदा खुशी छु,” जस्टिन होटार्डले भने। “एआई अब फिजिकल एआईतर्फ अघि बढ्दै जाँदा ५जी एड्भान्स्ड र ६जी नेटवर्कहरू एआई-नेटिभ डिजाइनमा आधारित हुनुपर्ने आवश्यकता बढेको छ। हाम्रो मोबाइल इन्फ्रास्ट्रक्चर व्यवसायको मुख्य लक्ष्य खुला इन्टरफेस, मापदण्ड र साझेदार इकोसिस्टममार्फत सफ्टवेयर-आधारित पूर्वाधार व्यवसायलाई अगाडि बढाउनु हो।”
उनले फाल्कसँग परिवर्तन व्यवस्थापन, सञ्चालन नेतृत्व र स्वचालनका लागि प्रविधि प्रयोग गर्ने विश्वव्यापी व्यवसायको अनुभव रहेको बताए।
फाल्कले आफू उद्योग र ग्राहकका लागि महत्वपूर्ण समयमा नोकियामा आबद्ध हुन पाउँदा उत्साहित रहेको बताइन्।
“नेटवर्कहरू एआई-आधारित नयाँ आवश्यकताका लागि विकसित भइरहेका बेला ग्राहकलाई छिटो र भरपर्दो सेवा दिन सक्ने साझेदार चाहिएको छ,” उनले भनिन्। “मोबाइल इन्फ्रास्ट्रक्चरको कोर सफ्टवेयर, रेडियो नेटवर्क र प्रविधि मापदण्डसम्बन्धी बलियो आधार छ। म टोलीसँग मिलेर एआईलाई विकास र सेवा प्रक्रियामा समावेश गर्दै नयाँ नवप्रवर्तन ल्याउन काम गर्नेछु।”
एआईसम्बन्धी यो जोड नोकिया ले यस वर्षको मोबाइल वर्ल्ड कङ्रेसमा दिएको सन्देशसँग मेल खान्छ। कम्पनीका अनुसार रोबोट र स्वचालित सवारीसाधनको विस्तारसँगै नयाँ प्रकारको मोबाइल कनेक्टिभिटी आवश्यक पर्नेछ र कम्पनी त्यसको तयारीमा लागेको छ।
फाल्कले औपचारिक रूपमा आगामी सेप्टेम्बर १ देखि नयाँ जिम्मेवारी सम्हाल्नेछिन्।
प्रकाशित: १ जेष्ठ २०८३, शुक्रबार