
काठमाडौं ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखिएका तथा फुकुवा गरिएका व्यक्ति, फर्म तथा संस्थाको विवरण राख्न नयाँ वेबसाइट blacklist.ppmo.gov.np सञ्चालनमा ल्याएको छ।
कार्यालयले आज एक विज्ञप्ति प्रकाशित गरी यसबारे जानकारी दिएको हो।
विज्ञप्ति अनुसार सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४३ बमोजिम कालोसूचीमा राखिएका तथा कालोसूचीबाट फुकुवा गरिएका बोलपत्रदाता, प्रस्तावदाता, परामर्शदाता, सेवा प्रदायक, आपूर्तिकर्ता, निर्माण व्यवसायी तथा अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीसम्बन्धी विवरण नयाँ वेबसाइटमा अद्यावधिक गरिएको हो।
कार्यालयले जारी गरेको सूचनाअनुसार यसअघि यस्ता विवरणहरू ppmo.gov.np वेबसाइटमा राखिने गरिएको थियो। अब भने ती विवरण नयाँ वेबसाइट blacklist.ppmo.gov.np मा अद्यावधिक गरी सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ।
सम्बन्धित सरोकारवालालाई जानकारी गराउने उद्देश्यले उक्त सूचना जारी गरिएको कार्यालयले उल्लेख गरेको छ।
प्रकाशित: १ जेष्ठ २०८३, शुक्रबार