
काठमाडौं ।
चिनियाँ डिस्प्ले प्यानल निर्माता बीओईले सामसङ ग्यालेक्सी एस२७ का लागि डिस्प्ले आपूर्ति गर्ने प्रयास गरिरहेको बताइएको छ।
कोरियाली सञ्चारमाध्यमको नयाँ रिपोर्टअनुसार बीओईले सीएसओटीले सामसङ ग्यालेक्सी ए५७ का लागि डिस्प्ले आपूर्ति सम्झौता पाएको देखेपछि आफू पनि कम्पनीको सप्लाई चेनमा प्रवेश गर्न चाहेको हो।
हाल सामसङ डिस्प्ले अझै पनि ग्यालेक्सी ए५७ का लागि मुख्य डिस्प्ले आपूर्तिकर्ता हो। तर परिमाणका हिसाबले सीएसओटी दोस्रो ठूलो आपूर्तिकर्ता बनेको छ।
टेलिग्राफका अनुसार यसैलाई ध्यानमा राख्दै सामसङले ग्यालेक्सी एस२७ का लागि सामसङ डिस्प्लेसँगै बीओईलाई दोस्रो आपूर्तिकर्ताका रूपमा प्रयोग गर्ने सम्भावना विचार गरिरहेको बताइएको छ। तर यसबारे अन्तिम निर्णय भने भइसकेको छैन।
यदि यस्तो भयो भने सामसङ इलेक्ट्रोनिक्सलाई केही लागत बचत गर्न मद्दत मिल्नेछ, जसलाई कम्पनीले महँगो बन्दै गएको मेमोरी खरिदमा प्रयोग गर्न सक्ने बताइएको छ।
कोरियाली मिडियाले सामसङ समूह स्तरमै बीओईलाई आफ्नो उच्चस्तरीय स्मार्टफोनका लागि आपूर्तिकर्ता बनाउन नचाहन सक्ने अनुमान पनि गरेको छ। त्यसो गर्दा सामसङ डिस्प्लेको एप्पलसँगको मूल्य वार्ताको स्थिति कमजोर हुन सक्ने विश्लेषण गरिएको छ।
चिनियाँ डिस्प्ले निर्माता कम्पनीहरू सामसङ डिस्प्लेभन्दा सस्ता भएकाले पछिल्ला महिनाहरूमा मेमोरी मूल्य बढिरहेको अवस्थाले सामसङ इलेक्ट्रोनिक्सको निर्णयमा प्रभाव पार्न सक्ने बताइएको छ।
प्रकाशित: २ जेष्ठ २०८३, शनिबार