फेसबुक र इन्स्टाग्राममा ठगीपूर्ण विज्ञापनबाट अर्बौं डलर आम्दानी गरेको मेटा प्लेटफर्म्समाथि आरोप

  • Technology Khabar | ३१ बैशाख २०८३, बिहीबार
फेसबुक र इन्स्टाग्राममा ठगीपूर्ण विज्ञापनबाट अर्बौं डलर आम्दानी गरेको मेटा प्लेटफर्म्समाथि आरोप

काठमाडौं ।

मेटा प्लेटफर्म्समाथि फेसबुक र इन्स्टाग्राममा देखाइने ठगीपूर्ण विज्ञापनबाट अर्बौं डलर आम्दानी गरेको आरोप लागेको छ।

सान्टा क्लारा काउण्टीका अधिकारीहरूले मेटाविरुद्ध मुद्दा दायर गर्दै कम्पनीले ठगीपूर्ण विज्ञापनलाई रोक्न प्रभावकारी कदम नचाली त्यसबाट अर्बौं डलर राजस्व कमाएको आरोप लगाएका हुन्।

मुद्दामा मेटाले झुटा विज्ञापन र अनुचित प्रतिस्पर्धासम्बन्धी कानुन उल्लङ्घन गरेको दाबी गरिएको छ। अधिकारीहरूले क्षतिपूर्ति, नागरिक जरिवाना तथा यस्ता गतिविधि रोक्न अदालतको आदेश माग गरेका छन्।

टेलिग्राफका अनुसार मुद्दाको आधार चुहावट भएका आन्तरिक दस्तावेजहरूलाई बनाइएको छ। ती दस्तावेजअनुसार मेटाले ठगीका संकेत भएका “उच्च जोखिम” विज्ञापनबाट वार्षिक ७ अर्ब डलरसम्म फाइदा लिएको हुन सक्ने उल्लेख गरिएको छ।

काउन्टीका अधिकारीहरूले कम्पनीले कानुनी कार्यान्वयनभन्दा नाफालाई प्राथमिकता दिएको आरोप लगाएका छन्। उनीहरूका अनुसार आम्दानी प्रभावित हुने अवस्थामा मेटाले आन्तरिक रूपमा ठगीविरुद्धको कारबाही सीमित गर्ने संयन्त्र बनाएको थियो।

मेटा प्लेटफर्म्सले भने यी आरोप अस्वीकार गरेको छ। कम्पनीले आफूले भ्रामक विज्ञापनविरुद्ध सक्रिय रूपमा काम गरिरहेको जनाएको छ।
तर मुद्दामा कम्पनीले सार्वजनिक रूपमा गरेको दावी र यस्ता विज्ञापनबाट प्राप्त फाइदाबीच मेल नखाने उल्लेख गरिएको छ।

यो मुद्दालाई सामाजिक सञ्जाल कम्पनीहरूविरुद्ध झुटा विज्ञापनमा उनीहरूको भूमिकालाई लिएर दायर गरिएका सबैभन्दा कडा कानुनी कारबाहीमध्ये एक मानिएको छ। यसले कानुनी र आर्थिक रूपमा ठूलो प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ।

प्रकाशित: ३१ बैशाख २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार