
काठमाडौं ।
अमेरिकी वाणिज्य विभागले गुगल, एक्सएआई र माइक्रोसफ्टसँग कृत्रिम बुद्धिमत्ता (एआई) मोडेलको सुरक्षा कमजोरी परीक्षणसम्बन्धी भएको सम्झौताका विवरण आफ्नो वेबसाइटबाट हटाएको छ। यो तथ्य विभागको वेबसाइट समीक्षा गर्दा पत्ता लागेको रोयटर्सले जनाएको छ।
यसअघि परीक्षणसम्बन्धी विभागको घोषणामा पुग्ने लिंक अहिले उपलब्ध छैन। वासिङ्टन समयअनुसार सोमबार दिउँसोसम्म उक्त लिंकमा “सरी, वि क्यान नट फाइण्ड द्याट पेज” भन्ने सन्देश देखिएको थियो। पछि त्यो लिंक परीक्षणको जिम्मा पाएको सरकारी संस्था सेन्टर फर एआई स्ट्यान्डर्ड्स एन्ड इनोभेसनको वेबसाइटमा रिडाइरेक्ट गरिएको थियो।
वाणिज्य विभागले मे ५ मा घोषणा गर्दै कम्पनीहरूले सार्वजनिक प्रयोगअघि आफ्ना नयाँ एआई मोडेल सरकारलाई उपलब्ध गराउने र सरकारी वैज्ञानिकहरूले ती मोडेलमा सुरक्षा कमजोरी परीक्षण गर्ने बताएका थिए।
अमेरिकी सरकारमा शक्तिशाली एआई प्रणालीबाट उत्पन्न हुन सक्ने राष्ट्रिय सुरक्षा जोखिमबारे चिन्ता बढ्दै गएको छ, जसमा एन्थ्रोपिकको माइथोज पनि समावेश छ। अमेरिकी अधिकारीहरूले उन्नत मोडेलमा प्रारम्भिक पहुँच पाएर साइबर आक्रमणदेखि सैन्य दुरुपयोगसम्मका जोखिम पहिचान गर्ने लक्ष्य राखेको बताएका थिए। वेबसाइट किन हटाइयो भन्ने कुरा तत्काल स्पष्ट भएको छैन।
वाणिज्य विभाग र व्हाइट हाउसका प्रवक्ताहरूले रोयटर्सको प्रतिक्रिया मागमा तत्काल जवाफ दिएका छैनन्।
प्रकाशित: २९ बैशाख २०८३, मंगलवार