‘मोबाइल’को निउँमा भनाभन हुँदा हत्या भएको खुलासा

  • Technology Khabar | २९ बैशाख २०८३, मंगलवार
‘मोबाइल’को निउँमा भनाभन हुँदा हत्या भएको खुलासा
एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्बिर।

काठमाडौं ।

धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैँडाकोट नगरपालिका–१७ का २७ वर्षीय कृष्णबहादुर खड्का र स्याङ्जाको साविक जगतभञ्ज्याङ गाउँ विकास समिति वडा नम्बर ४ घर भई हाल पोखरा महानगरपालिका–१५ बस्ने २८ वर्षीय सम्राट गुरुङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार उनीहरुलाई पोखरा महानगरपालिका–८ स्थित अशोक होटलबाट पक्राउ हालै गरिएको हो।

पक्राउ परेकामध्ये खड्काले यही वैशाख २२ गते भरतपुर महानगरपालिका–७ बुद्धचोकस्थित सम्भव अटो पसल अघि रुपन्देहीको सैनामैना नगरपालिका–६ का ३० वर्षीय आशिष खनाललाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए।

खड्का र खनालबीच आर्थिक लेनदेन र मोबाइलको विषयमा विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए। खनालको मोबाइल खड्काले चलाउँदै आएको तर फिर्ता माग्दा सामाजिक सञ्जालमा विवाद भएको भेटिएको पुरीले बताए।

गुरुङले खड्कालाई लुकाइछिपाइ राख्न सहयोग गरेको अभियोगमा पक्राउ गरिएको हो। दुवै जनालाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएर थप अनुसन्धान सुरु गरिएको उनले बताए। रासस

प्रकाशित: २९ बैशाख २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...