५६ अर्ब डलरमा ईबे खरिद गर्ने गेमस्टपको प्रस्ताव

  • Technology Khabar | २२ बैशाख २०८३, मंगलवार
५६ अर्ब डलरमा ईबे खरिद गर्ने गेमस्टपको प्रस्ताव

काठमाडौं ।

गेमस्टपले आइतबार करिब ५६ अर्ब डलर बराबरको नगद र सेयर मिश्रित सम्झौतामार्फत ईबे किन्नेप्रस्ताव गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत र्यान कोहेनले ईबेको बोर्ड सहमत नभए प्रस्ताव सिधै शेयरधनीसमक्ष लैजाने बताएका छन्।

कुनै समय सानो बजार मूल्य भएको तर पाँच वर्षअघि मिम-स्टक उछालका कारण चर्चामा आएको गेमस्टपले प्रति सेयर १२५ डलर दिने प्रस्ताव गरेको छ, जसमा ५०–५० प्रतिशत नगद र सेयर समावेश छन्। शुक्रबारको बन्द मूल्यको आधारमा यो प्रस्ताव करिब २० प्रतिशत प्रिमियम हो।

रोयटर्सका अनुसार ईबेको बजार मूल्य गेमस्टपभन्दा करिब चार गुणा ठूलो भएकाले यो खरीद प्रस्ताव महत्वाकांक्षी प्रयास मानिएको छ। कोहेनका अनुसार गेमस्टपले सेयर र डेरिभेटिभमार्फत ईबेमा करिब ५ प्रतिशत हिस्सा पहिले नै लिएको छ। यो प्रस्ताव पहिलोपटक द वाल स्ट्रीट जर्नलले कोहेनसँगको अन्तर्वार्तालाई उद्धृत गर्दै सार्वजनिक गरेको थियो।

कोहेनले ईबे र गेमस्टपलाई एउटै छातामुनि ल्याउँदा आम्दानी बढाउने र लागत घटाउने ठूलो अवसर सिर्जना हुने बताएका छन्। “यो अमेजनको प्रतिस्पर्धी बन्न सक्छ,” उनले भने। उनले सम्झौता सम्पन्न भएको १२ महिनाभित्र ईबे को वार्षिक लागत २ अर्ब डलरसम्म घटाउने र यसबाट प्रति सेयर आम्दानी बढ्ने बताएका छन्।

गेमस्टपका अमेरिकाभरका १,६०० स्थानहरूले ईबेलाई प्रमाणीकरण, इन्टेक, फुलफिलमेन्ट र लाइभ कमर्सका लागि राष्ट्रिय नेटवर्क प्रदान गर्ने उनले बताए। ईबे ले यस प्रस्तावबारे तत्काल प्रतिक्रिया दिएको छैन। “ईबे को मूल्य अझ धेरै हुनुपर्छ र हुनेछ,” कोहेनले भने, “म ईबेलाई सयौं अर्ब डलर मूल्यको कम्पनी बनाउने सोचमा छु।”

मिम-स्टक उछालमा भूमिकाका कारण खुद्रा लगानीकर्तामाझ “मिम किंग” भनेर चिनिने कोहेन साहसी र असामान्य निर्णयका लागि परिचित छन्।

गेमस्टपर ईबे बीचको सम्भावित सम्झौताले परम्परागत मर्जर तथा अधिग्रहण अभ्यासलाई चुनौती दिनेछ, किनकि प्रायः सानो कम्पनीले आफूभन्दा धेरै ठूलो कम्पनीलाई लक्ष्य बनाउने घटना दुर्लभ हुन्छ। कोहेनले करिब २० अर्ब डलर ऋणका लागि टीडी सेक्युरिटिजबाट प्रतिबद्धता पत्र प्राप्त भइसकेको बताएका छन्।

उनका अनुसार जनवरी ३१ सम्म गेमस्टपसँग करिब ९.४ अर्ब डलर नगद र तरल लगानी रहेको छ र नगद हिस्सा त्यसै तथा बाह्य इक्विटी र ऋणमार्फत जुटाइनेछ।

रिपोर्ट अनुसार उनले मध्यपूर्वका सार्वभौम सम्पत्ति कोषहरूबाट पनि सहयोग लिन सक्नेछन्। कोहेनले सम्झौता सम्पन्न भएपछि संयुक्त कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने बताएका छन्।

प्रकाशित: २२ बैशाख २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार