किसानलाई मौसम तथा जलवायुसम्बन्धी सूचना

  • Technology Khabar | २२ बैशाख २०८३, मंगलवार
किसानलाई मौसम तथा जलवायुसम्बन्धी सूचना

काठमाडौं ।

तनहुँको म्याग्दे गाउँपालिकामा कृषि तथा जलवायु सूचना केन्द्र स्थापना हुने भएको छ।

स्थानीय समुदाय, विशेषगरी किसानहरूलाई समयमै मौसम तथा जलवायुसम्बन्धी सूचना उपलब्ध गराई जलवायु परिवर्तन न्यूनीकरण, अनुकूलन तथा सामना रणनीति अवलम्बन गर्न सहयोग पुर्याई स्थानीय समुदायको उत्थानशील एवं अनुकूलन क्षमता बढाउने उद्देश्यले गाउँपालिकामा कृषि तथा जलवायु सूचना केन्द्र स्थापना गर्न लागिएको हो।

उक्त कार्यका लागि म्याग्दे गाउँपालिका र श्रमिक बालबालिकाको सामाजिक एकीकरण मञ्च (चिल्ड्रेन–नेपाल) बीच सहमतिपत्रमा हस्ताक्षर गरिएको छ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र चिल्ड्रेन–नेपालका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले उक्त सहमतिपत्रमा हस्ताक्षर गरे।

उक्त सूचना केन्द्रमार्फत नागरिकलाई मौसम पूर्वानुमान, वर्षा, खडेरी, हुरीबतास, असिनालगायत मौसमी घटनाबारे जानकारी उपलब्ध गराइनेछ।

साथै कृषि सल्लाह, चेतनामूलक सूचना र जलवायु जोखिम न्यूनीकरणसम्बन्धी जानकारी पनि नियमित रूपमा प्रसारण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए।

केन्द्रमार्फत किसानलाई जलवायु अनुकूल कृषि प्रविधि, जस्तै थोपा सिँचाइ, ग्रिन हाउस, टनेल खेती, मल्चिङलगायत विषयमा जानकारी दिइनेछ। यसले कृषि उत्पादन वृद्धि, खाद्यान्न आत्मनिर्भरता र जीवनस्तर सुधारमा टेवा पुग्ने विश्वास गरिएको अधिकारीको भनाइ छ।

गाउँपालिकाले केन्द्र सञ्चालनका लागि आवश्यक पूर्वाधार, जनशक्ति तथा सूचना व्यवस्थापनको जिम्मेवारी लिनेछ भने चिल्ड्रेन–नेपालले ‘जलवायु उत्थानशील समुदाय परियोजना’ अन्तर्गत रु दुई लाख सहयोग उपलब्ध गराउनेछ। साथै प्राविधिक सहयोग, चेतनामूलक सामग्री तयारी र प्रचारप्रसारमा पनि सहयोग गर्ने सहमतिपत्रमा उल्लेख छ।

जल तथा मौसम विज्ञान विभाग, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग तथा गाउँपालिकाको कृषि तथा वातावरण शाखाबाट प्राप्त सूचनाहरूलाई केन्द्रमार्फत स्थानीयकरण गरी कृषकसम्म पुर्याइनेछ। सूचना डिजिटल बोर्ड, मोबाइल म्यासेज, फेसबुक र ह्वाट्सएप समूहमार्फत प्रसारण गरिने व्यवस्था मिलाइने अधिकारीले बताए। उक्त केन्द्र एक महिनाभित्र सञ्चालनमा ल्याइनेछ।

जलवायु सूचना केन्द्र सञ्चालनका लागि आवश्यक कोठाको व्यवस्था गरी पालिकातर्फ नियमित रूपमा जलवायु सूचना अद्यावधिक गर्न कर्मचारीको व्यवस्थापन गरिने जनाइएको छ।रासस

प्रकाशित: २२ बैशाख २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार