आईसीटी फाउन्डेसन नेपालद्वारा बागमती ओरिएन्टेसन सत्र सम्पन्न

  • Technology Khabar | २१ बैशाख २०८३, सोमबार
आईसीटी फाउन्डेसन नेपालद्वारा बागमती ओरिएन्टेसन सत्र सम्पन्न

काठमाडौं ।

 आईसीटी फाउन्डेसन नेपालले काठमाडौंस्थित टेकस्पायर कलेजमा “बागमती ओरिएन्टेसन सत्र” सफलतापूर्वक सम्पन्न गरेको छ। इन्क्युबेसन तथा उद्यमशीलता विकासलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा दर्ता भएका १५ टिममध्ये १२ टिमको सक्रिय सहभागिता रहेको थियो ।

सहभागी उद्यमीहरूले आफ्ना व्यवसायिक अपेक्षा प्रस्तुत गर्दै सशक्त मेन्टरशिप, लगानी सहयोग तथा नीतिगत तहसम्म पहुँच सुनिश्चित गर्ने वातावरणको आवश्यकता औंल्याएका थिए।

कार्यक्रममा एग्रीपोर्टल, बिल्डाकार इन्नोभेसन्स, केयरगिभर म्यानेजमेन्ट सिस्टम, म्याच २४ ओर्बिटल्स, एमएस डिजिटल अटो सोलुसन प्रा. लि., नेपट्र्याक, नेक्स्ट कोर सिस्टम, रिटेल साथी, सम्पर्क डिजिटल लोयल्टी, सतकर्म टेक सोलुसन्स प्रा.लि., द भिजनारिज नेपाल र भेन्डिङ किङ प्रा.लि. लगायतका स्टार्टअप टोलीहरूको सहभागिता रहेको थियो।

सत्रमा सहभागी टोलीहरूले आफ्नो परिचय दिँदै कम्पनी तथा स्टार्टअप आइडियाबारे २–३ मिनेटको प्रस्तुति दिएका थिए । त्यसपछि भएको अन्तरक्रियात्मक सत्रमा उद्यमी भुषण गिरीले आफ्नो अनुभव साझा गर्दै व्यवसायको कानुनी र वित्तीय पक्ष सुरुदेखि नै व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

उनले परिपूर्ण उत्पादनको प्रतीक्षामा समय खेर नफाल्दै प्रारम्भिक चरणमै काम अघि बढाउन सुझाव दिए। साथै, सह–संस्थापकबीच लक्ष्य र जिम्मेवारी स्पष्ट हुनुपर्ने र ओकेआर अवधारणालाई अपनाउनु पर्ने धारणा राखे । उनले इलेभेटर पिचको महत्त्वबारे पनि प्रकाश पारे।

त्यसैगरी रेशम भण्डारीले “आइडियालाई नभई समाधानलाई प्रेम गर्नुपर्छ” भन्ने सन्देश दिँदै व्यवसायिक सोचलाई व्यवहारिकता र स्पष्टतासँग जोड्नुपर्नेमा जोड दिए।

कार्यक्रममा औद्योगिक उद्यम विकास संस्थानका इन्जिनियर उमेश गुप्ताले ७५ आवेदनमध्ये ४२ संस्था छनोट भएको र तीमध्ये आईसीटी फाउन्डेसन नेपाल पनि एक रहेको जानकारी दिए। उनले नेपाललाई आईटी इन्जिनियरहरूको देशका रूपमा विकास गर्ने उद्देश्यसहित यो पहल अघि बढाइएको बताए।

प्रकाशित: २१ बैशाख २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...