
काठमाडौं ।
पेन्टागनले शुक्रबार सात एआई कम्पनीहरूसँग सम्झौता गरेको बताएको छ। तिनीहरुका उन्नत क्षमताहरू रक्षा विभागका गोप्य नेटवर्कहरूमा प्रयोग गरिनेछ। यसले सैन्य क्षेत्रमा काम गर्ने एआई प्रदायकहरूको दायरा विस्तार गर्ने उद्देश्य राखेको छ।
यस घोषणामा एन्थ्रोपिक समावेश गरिएको छैन किनकि सैन्य प्रयोगमा यसको एआई उपकरणका सुरक्षा सीमाबारे पेन्टागनसँग विवाद भइरहेको रोयटर्सले जनाएको छ।
पेन्टागनले यस वर्षको सुरुवातमा व्यापक रूपमा रक्षा विभागमा प्रयोग भइरहेको उक्त एआई स्टार्टअपलाई आपूर्ति श्रृंखला जोखिमका रूपमा वर्गीकृत गर्दै यसको प्रयोग पेन्टागन र यसका ठेकेदारहरूका लागि निषेध गरेको थियो।
केही पहिले नै पेन्टागनसँग काम गरिरहेका सहित स्पेसएक्स, ओपनएआई, गुगलन, एद्दभिडिया, रिफ्लेक्शन एआई, माइक्रोसफ्ट र अमेजन वेब सर्भिसेजजस्ता कम्पनीहरू अब यसको गोप्य र अति गोप्य नेटवर्क प्रणालीमा समावेश गरिनेछ।
यसले संवेदनशील विषयहरूमा प्रयोगका लागि सैन्य पहुँच बढाउने पेन्टागनले विज्ञप्तिमा जनाएको छ। कम चिनिएको रिफ्लेक्शन एआईले अक्टोबरमा २ अर्ब डलर जुटाएको थियो, जसमा डोनाल्ड ट्रम्प जुनियर साझेदार र लगानीकर्ता रहेको १७८९ क्यापिटलको लगानी छ।
मार्चमा एन्थ्रोपिकका उत्पादनलाई “आपूर्ति-श्रृंखला जोखिम” घोषणा गरेपछि र दुवै पक्षबीच मुद्दा परेपछि, सेनाले एआई स्टार्टअपहरूप्रति चासो बढाएको छ।
छिटो प्रक्रिया
यस विवादपछि नयाँ एआई कम्पनीहरूले आफूलाई गोप्य र अति गोप्य डेटा स्तरमा समावेश गर्ने प्रक्रिया तीन महिनाभन्दा कममा सम्पन्न हुन थालेको बताएका छन्। यसअघि यस्तो प्रक्रिया १८ महिना वा बढी समय लाग्ने गर्दथ्यो।
सैनिकहरूलाई प्रदान गरिने योजना बनाउने, रसद व्यवस्थापन, लक्ष्य निर्धारण लगायतका काममा प्रयोग गरिने एआई सेवाहरू विस्तार गरेर पेन्टागनले ठूलो सञ्चालनलाई सरल र छिटो बनाउन सहयोग पुग्ने जनाएको छ।
साथै यसले कुनै एक सेवा प्रदायकमा अत्यधिक निर्भरता (भेन्डर लक) बाट बच्न मद्दत गर्ने पनि उल्लेख गरिएको छ, जुन एन्थ्रोपिक वा अन्य प्रमुख प्रदायकप्रतिको निर्भरतासँग सम्बन्धित हुन सक्छ।
पेन्टागनका कर्मचारी, पूर्व अधिकारी र अमेरिकी सेनासँग नजिकबाट काम गर्ने आईटी ठेकेदारहरूले बताएअनुसार उनीहरू एन्थ्रोपिकका एआई उपकरणहरू छोड्न अनिच्छुक छन्, किनकि उनीहरूका अनुसार ती विकल्पभन्दा उत्कृष्ट छन्। यद्यपि आगामी ६ महिनाभित्र हटाउन निर्देशन दिइएको छ।
एआई अमेरिकी सेनाका लागि झन् महत्वपूर्ण बन्दै गएको छ। पेन्टागनको मुख्य एआई प्लेटफर्म जेनएआई डट मिल पाँच महिनाको सञ्चालनपछि १३ लाखभन्दा बढी रक्षा विभागका कर्मचारीले प्रयोग गरिसकेका छन्। गुगलले पेन्टागनसँग सम्झौता गरी आफ्नो एआई मोडेलहरू गोप्य कार्यका लागि प्रयोग गर्न अनुमति दिएको एक स्रोतले यस हप्ता रॉयटर्सलाई जानकारी दिएको छ।
एन्थ्रोपिक अझै जोखिमकै रूपमा
रक्षा विभागका प्रमुख प्राविधिक अधिकृत एमी माइकलले शुक्रबार सीएनबीसी सँगको अन्तर्वार्तामा एन्थ्रोपिक अझै आपूर्ति-श्रृंखला जोखिमकै रूपमा रहेको बताए। तर उनले कम्पनीको उन्नत साइबर क्षमतायुक्त एआई मोडेल माइथोजलाई “राष्ट्रिय सुरक्षा सम्बन्धी अलग क्षण” भने।
माइथोजको पूर्वावलोकन संस्करण धेरै कम्पनी तथा सार्वजनिक र निजी संस्थाहरूलाई भविष्यका साइबर आक्रमणबाट आईटी संरचना सुरक्षित गर्न दिइएको छ तर पेन्टागन उक्त कार्यक्रममा सहभागी छ कि छैन भन्ने स्पष्ट छैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता एन्थ्रोपिक आफ्नो प्रशासनको नजरमा सुधार हुँदै गएको बताएका थिए, जसले पेन्टागनको प्रतिबन्ध हटाउने सम्भावना खुला गरेको छ।
प्रकाशित: २० बैशाख २०८३, आईतवार