
काठमाडौं ।
गत वर्षको सेप्टेम्बरमा आईओएस संस्करणको अनावरण पछि टेस्लाले अन्ततः एन्ड्रोइडमा रोबोट्याक्सी एप लन्च गरेको छ। एन्ड्रोइडको लागि रोबोट्याक्सी एप गुगल प्ले स्टोरमा उपलब्ध भएको छ।
एपले प्रयोकर्तालाई टेस्लाको “रोबोट्याक्सी” को फ्लीटमा राइड अनुरोध गर्न दिन्छ। साथै एप प्रयोग गरेर क्लाइमेट कन्ट्रोल, सिट स्थिति र म्युजिक प्लेब्याक समायोजन गर्न सकिने छ। त्यसैगरी प्रयोकर्ताले आफ्नो यात्राको प्रगति निगरानी गर्न, ड्रप–अफ स्थान परिवर्तन गर्न वा कारलाई रोक्नको लागि भन्न सक्नेछन्।
एन्ड्रोइड एपमा गुगल पे प्रयोग गरेर भुक्तानी पनि गर्न सकिने एरिनाइभीले रिपोर्ट गरेको छ।
रोबोट्याक्सी सेवा हाल अमेरिकामा मात्र सञ्चालन भइरहेको हुनाले एप त्यहाँ मात्र उपलब्ध भएको र विशेष गरी टेक्सासका अस्टिन, डलास र ह्युस्टन गरि तीन स्थानहरूमा यो सेवा सञ्चालन भइरहेको बताइएको छ। डलास र ह्युस्टनमा सेवाले समेटिएको वास्तविक क्षेत्र एकदम सानो भएको उल्लेख छ।
अस्टिनमा, हाल लगभग ४० रोबोट्याक्सीहरू सञ्चालनमा रहेको छन् भने ती मध्ये केवल १२ ओटा मात्र चालकविहीन मोडमा सञ्चालन हुने उल्लेख गरिएको छ। बाँकीमा अगाडिको सिटमा “ह्युम्यान सेफ्टि मनिटरहरू” रहेका छन्।
क्यालिफोर्नियाको बे एरियामा पनि यो सेवा उपलब्ध भएतापनि टेस्लासँग त्यहाँ स्वायत्त ड्राइभिङ इजाजतपत्र नभएकोले चालकहरूले फ्लीटमा एफएसडी सुविधाको सुपरिवेक्षण गर्ने बताइएको छ।
प्रकाशित: १६ बैशाख २०८३, बुधबार