
काठमाडौं ।
नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी) ले आगामी मे १५, २०२६ मा अमेरिकाको टेक्सास राज्यको ग्रेपभाइनस्थित एम्बेसी सुइट्स बाइ हिल्टनमा आयोजना हुने “नेपाल टेक रोडशो यूएसए २०२६” को घोषणा गरेको छ।
नेपालको प्रविधि क्षेत्रको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस रोडशोमार्फत नेपालको आईटी क्षमतालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नुका साथै अमेरिकी कम्पनीहरू, लगानीकर्ता तथा गैरआवासीय नेपाली समुदायसँग अर्थपूर्ण व्यावसायिक सम्बन्ध स्थापना गर्ने लक्ष्य राखिएको छ।
यस पहलले नेपाललाई सफ्टवेयर विकास, कृत्रिम बौद्धिकता (एआई), डाटा तथा डिजिटल रूपान्तरण सेवाका लागि भरपर्दो र प्रतिस्पर्धी गन्तव्य का रूपमा स्थापित गर्न सहयोग पुर्याउने विश्वास लिइएको संस्थाको भनाई छ।
यसअघि भएका अन्तर्राष्ट्रिय पहलहरूको सफलतापछि आयोजना हुन लागेको नेपाल टेक रोडशो यूएसए २०२६ नेपाली आईटी कम्पनीहरूलाई अमेरिकी बजारसँग प्रत्यक्ष रूपमा जोड्ने लक्ष्यसहित अघि बढाइएको हो।
यस कार्यक्रममार्फत नेपालको प्रविधि क्षमता प्रदर्शन, दीर्घकालीन साझेदारी विकास तथा विश्वकै प्रमुख प्रविधि बजारमध्ये एकमा नेपाली कम्पनीहरूको अवसर विस्तार हुने अपेक्षा गरिएको छ।
नास-आईटीका संस्थापक अध्यक्ष तथा कार्यकारी बोर्ड सदस्य रिचन श्रेष्ठले भने, “विश्वले भर्खरै मात्र नेपालको प्रविधि उद्योगको वास्तविक क्षमता बुझ्न थालेको छ। हामीसँग विश्वव्यापी व्यवसायहरूका लागि दीर्घकालीन प्रविधि साझेदार बन्न सक्ने प्रतिभा, विश्वसनीय सेवा प्रदान गरेको अनुभव तथा ठूलो महत्वाकांक्षा छ। आगामी मे ८ मा सान फ्रान्सिस्को र मे १५ मा डलासमा आयोजना हुने नेपाल टेक रोडशो यूएसए २०२६ नेपालको प्रविधि उद्योगलाई विश्वमञ्चमा स्थापित गर्ने नास-आईटीको प्रतिबद्धता हो। यो यस इकोसिस्टम निर्माणमा योगदान पुर्याउने प्रत्येक नेपाली उद्यमी, इन्जिनियर तथा नवप्रवर्तकका लागि गर्वको क्षण पनि हो।”
आयोजकका अनुसार मुख्य कार्यक्रमअघि मे ८, २०२६ मा अमेरिकाको सान फ्रान्सिस्कोमा “नेपाल टेक कनेक्ट – सान फ्रान्सिस्को” आयोजना गरिनेछ। उक्त कार्यक्रम बे एरिया क्षेत्रमा रहेका व्यवसायी, उद्यमी, लगानीकर्ता तथा नेपाली पेशाकर्मीहरूसँग नेटवर्किङ तथा छलफलका लागि केन्द्रित हुनेछ।
यस कार्यक्रममा नेपालिज अमेरिकन चेम्बर अफ कमर्स (एनएसीओसी) आधिकारिक स्थानीय साझेदारका रूपमा तथा अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) सहकार्य साझेदारका रूपमा सहभागी रहेका छन्।
यस पहललाई डेक्सपर्ट्स इंकले शीर्षक प्रायोजक, फोकस हेल्थले प्रायोजक तथा फ्युजमेसिन्सले सहयोगी प्रायोजकका रूपमा साथ दिएका छन्।
यस रोडशोमा नेपालका अग्रणी आईटी कम्पनीहरू तथा प्रतिनिधिहरूको सहभागिता रहनेछ। सहभागी कम्पनीहरूमा बज्रा टेक्नोलोजिजका गौरव पाण्डे, बिज सर्भ आइटीका अभय पौडेल, सिटीटेक ग्रुपका साजन शर्मा, कोड पिक्सेल्ज मिडियाका धनञ्जय पौडेल, ज्यास्पर आइटीका सागर केसी, लीपफ्रग टेक्नोलोजी नेपालका कैलाश बिजयानन्द, क्विकफक्स टेक्नोलोजिजका रिचन श्रेष्ठ, रारा ल्याब्सका मनोज घिमिरे तथा टेकक्राफ्ट इंकका अनिश श्रेष्ठ र पवन कृष्ण श्रेष्ठ रहनेछन्।
नेपाल टेक रोडशो यूएसए २०२६ का प्रमुख आकर्षणहरूमा नेपाली आईटी कम्पनीहरूले आफ्ना सेवा, समाधान तथा क्षमता अमेरिकी सरोकारवालाहरू समक्ष प्रस्तुत गर्ने कम्पनी शोकेस, अमेरिकी व्यवसाय, स्टार्टअप तथा लगानीकर्ताहरूसँग हुने बीटूबी मिटिङ तथा नेटवर्किङ, नेपालको आईटी क्षेत्र, ग्लोबल डेलिभरी क्षमता तथा सहकार्यका अवसरबारे हुने उद्योगसम्बन्धी प्रस्तुति, तथा अमेरिकामा रहेका नेपाली पेशाकर्मीहरूसँग साझेदारी, मार्गदर्शन तथा बजार प्रवेशका सम्भावनाबारे हुने डायस्पोरा एंगेजमेन्ट समावेश रहने आयोजकको भनाई छ।
कार्यक्रममा रिचन श्रेष्ठ (क्विकफक्स टेक्नोलोजिज), हिमाल कर्माचार्य (लीपफ्रग टेक्नोलोजी), अभय पौडेल (बिज सर्भ आइटी), शंकर उप्रेती (हाम्रो पात्रो इंक) तथा कैलाश बिजयानन्द (अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल) लगायतका उद्योग विज्ञहरूको विशेष प्रस्तुति रहनेछ।
साथै धनञ्जय पौडेल (कोड पिक्सेल्ज मिडिया ) तथा गौरव पाण्डे (बज्रा टेक्नोलोजिज) ले क्रमशः स्वागत तथा समापन मन्तव्य दिनुहुनेछ। उहाँहरूले नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको अवस्था, नेपालबाट विश्वस्तरीय टेक तथा प्रोडक्ट कम्पनी निर्माणको यात्रा, नेपालमा व्यवसाय सञ्चालनको सहजता तथा अमेरिका–नेपाल व्यापार सहकार्यका अवसरबारे आफ्ना विचार राख्ने तालिका रहेको छ।
प्रकाशित: १५ बैशाख २०८३, मंगलवार