
काठमाडौं ।
घरमै राहदानीलगायत प्रशासनिक सामग्री पुर्याउन काभ्रेका नागरिकलाई सरकारी सेवा सहज र सुलभ बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय धुलिखेल र जिल्ला हुलाक कार्यालयबीच शुक्रबार सम्झौता भएको छ।
सम्झौतापछि जिल्लास्थित प्रशासन कार्यालयबाट प्रदान गरिने राहदानी तथा अन्य भौतिक वस्तु सेवा अब हुलाकमार्फत नागरिकको घरमै पु¥याइने भएको हो । सरकारी सेवा लिन कार्यालयसम्म धाउनुपर्ने झन्झट कम गर्ने लक्ष्यसहित गरिएको यो पहलले विशेषगरी वृद्धवृद्धा, अशक्त, ब्यस्त नागरिक तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने सेवाग्राहीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको जनाइएको छ।
सेवाग्राहीले आवश्यक प्रक्रिया पूरा गरी घरमै सेवा उपलब्ध गराइदिन अनुरोध गरेमा राहदानीलगायतका सामग्री सुरक्षित रूपमा घरसम्म पुर्याइने भएको हो।
जिल्ला प्रशासनद्वारा आयोजित पत्रकार सम्मेलनमा सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाई र हुलाक कार्यालय प्रमुख दीपककुमार नेपालीले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौताअनुसार जिल्ला प्रशासन कार्यालयबाट तयार पारिएका सामग्री छिटो, सुरक्षित र जिम्मेवार ढङ्गले सम्बन्धित व्यक्तिसम्म पुर्याउने दायित्व जिल्ला हुलाक कार्यालयको हुनेछ।
त्यस्तै, टिकट शुल्कको ब्यवस्था गर्नुका साथै सेवाग्राहीको सही र स्पष्ट ठेगाना उपलब्ध गराउने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयले वहन गर्ने जनाइएको छ।
यो व्यवस्था लागू भएपछि नागरिकले राहदानी लिन लामो लाइन बस्नुपर्ने, पटक–पटक कार्यालय धाउनुपर्ने तथा अनावश्यक समय खर्च गर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ ।
सरकारी सेवामा प्रविधि र व्यवस्थापन सुधारको उदाहरणका रूपमा हेरिएको यस कदमले सेवा प्रवाहलाई अझ प्रभावकारी र जनमैत्री बनाउने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए। उनकाअनुसार घरमै राहदानीलगायतका सेवा चाहनेले घरमै र सदरमुकामबाट लिने भए उल्लेख गर्न पारमा आग्रह गरे। रासस
प्रकाशित: १२ बैशाख २०८३, शनिबार