स्वघोषणा गरी पोल भाडा बुझाएर सम्झौता गर्न इन्टरनेट तथा केबुल टिभी प्रदायकलाई नेपाल विद्युत प्राधिकरणको अल्टिमेटम

  • Technology Khabar | १२ बैशाख २०८३, शनिबार
स्वघोषणा गरी पोल भाडा बुझाएर सम्झौता गर्न इन्टरनेट तथा केबुल टिभी प्रदायकलाई नेपाल विद्युत प्राधिकरणको अल्टिमेटम

काठमाडौं ।

विद्युत प्राधिकरणले आफ्ना विद्युत संरचना प्रयोग गरी आफ्नो सेवा सञ्चालन तथा विस्तार गर्दै आइरहेका इन्टरनेट तथा केबुल टि.भी. सेवा प्रदायकहरूलाई त्यसबापतको भाडा तिरेर सम्झौता गर्न आउन आह्वान गरेको छ।

प्राधिकरणले हालै एक सूचना प्रकाशित गरी यसबारे सम्बद्ध सबैलाई जानकारी गराउँदै सम्झौता नगरी आफ्नो सेवा सञ्चालन तथा विस्तार गर्ने सेवा प्रदायकहरूप्रति सहयोगी भूमिका निर्वाह गर्न बाध्य नहुने चेतावनीसमेत दिएको छ।

इन्टरनेट तथा केबुल टि.भी. सेवा प्रदायकहरूले नेपालका शहरी तथा ग्रामीण क्षेत्रमा नेपाल विद्युत प्राधिकरणको विद्युत संरचना प्रयोग गरी आफ्नो सेवा सञ्चालन तथा विस्तार गर्दै आइरहेका छन्।

यस्ता सेवा प्रदायक र विद्युत प्राधिकरणबीच वर्षौंदेखि पोल भाडासम्बन्धी विवाद रहँदै आएको छ।

प्राधिकरणका अनुसार त्यस्ता सेवा प्रदायकहरूले विद्युतीय संरचना प्रयोग गरेबापत नियमानुसार तिर्न/बुझाउनुपर्ने भाडा रकम भुक्तानी नगरेको कारण बक्यौता रकम बढ्दै गइरहेको छ।

सम्बन्धित समाचार

पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकहरुको तार हटाइदिने नेपाल टेलिकमको चेतावनी

प्राधिकरणका अनुसार आफूले प्रयोग गरेको विद्युत संरचना (दुरी तथा परिमाण) को स्वःघोषणासहित नियमित भाडा रकम भुक्तानी गरी सम्झौता गर्न र संयुक्त प्रमाणीकरण गर्न पटक पटक पत्राचार गर्दासमेत कतिपय सेवा प्रदायकहरुले चासो नदेखाएको कारण मिति २०८२/०८/१७ र २२ गते दुई दिन आईस्पानका प्रतिनिधिसमेतको उपस्थितिमा बैठक बसेको थियो।

बैठकमा सेवा प्रदायकहरूले आफूले प्रयोग गरेको विद्युतीय संरचनाको दूरी तथा परिमाण उल्लेख गरी स्वःघोषणासहितको विवरण ने.वि.प्रा., वितरण तथा ग्राहक सेवा निर्देशनालयमा मिति २०८२ पौष २० गते सम्ममा उपलब्ध गराउने सहमति भएको थियो।

तर हालसम्म पनि उक्त विवरण प्राप्त नभएको भन्दै प्राधिकरणले सम्बन्धित इन्टरनेट तथा केबुल टि.भी. सेवा प्रदायकहरूले आफूले प्रयोग गरेको नेपाल विद्युत प्राधिकरणको संरचना (दुरी तथा परिमाण) को स्वःघोषणासहित अविलम्व भाडा रकम भुक्तानी गरी सम्झौता गर्न सूचित गरेको हो।

प्रकाशित: १२ बैशाख २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...