
काठमाडौं ।
हालै सिर्जित इन्धन समस्यालाई कम गर्न सरकारले इन्धनबाट सञ्चालित सवारीसाधनलाई विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्न ल्याएको नीतिलाई प्रभावकारी कार्यान्वयनमा ल्याउनुपर्नेमा सम्बन्धित विज्ञहरुले जोड दिएका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), पुल्चोक क्याम्पस, थापाथली क्याम्पस र काठमाडौँ विश्वविद्यालयद्वारा यहाँ आज आयोजित ‘नेपालमा इभी रूपान्तरणका सम्भावना, अवसर र चुनौतीहरू’ विषयक कार्यशालामा सहभागी वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।
सो अवसरमा सवारीसाधानको आयातदेखि प्राविधिक विशेषताहरू र आर्थिक सम्भाव्यतासम्म इभी रूपान्तरणको पूर्ण स्पेक्ट्रम समेट्ने बारेमा पनि विज्ञहरुले धारणा राख्नुभएको थियो । विद्युतीय सवारीसाधन रूपान्तरणसम्बन्धी अनुसन्धानको वर्तमान अवस्था र आन्तरिक दहन इन्जिन (आइसिई) बाट फराकिलो रूपान्तरणका लागि देशमा हुनपर्ने तयारीबारे पनि छलफल भएको थियो ।
कार्यक्रममा नाष्टका सचिव रवीन्द्र ढकालले इभी रुपान्तरणका लागि आर्थिक, वातावरणीय पक्षहरुलाई ध्यानमा राखी नीति नियम र ठोस मापदण्ड बनाउनुपर्ने आवशयकता औँल्याए।
नाष्टका प्राविधिक सङ्कायका प्रमुख रोशन पाण्डेले सरकारको नीतिको कार्यान्वयनका लागि इभी रूपान्तरण, यसको वर्तमान स्वरूपमा, औसत नेपाली उपभोक्ता वा सञ्चालकका लागि आर्थिक रूपमा विकल्प बन्नसक्नुपर्नेमा धारणा राखे।
सो अवसरमा नेपालमा इभी आयातको वृद्धि र यस क्षेत्रलाई आकार दिने प्रमुख नीतिगत मार्गचित्रहरूको रूपरेखाका बारेमा विज्ञहरुद्वारा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
रेट्रोफिटिङका प्राविधिक पक्षहरू अर्थात् आइसिइ सवारीसाधनलाई विद्युतीय पावर ट्रेनमा रूपान्तरण गर्ने प्रक्रिया घटक चयन, प्रणाली आकार निर्धारण र तुलनात्मक लागत विश्लेषण गरियो । कार्यक्रममा नीति निर्माता, अटोमोटिभ इञ्जिनियर, अनुसन्धानकर्ता तथा उद्योगका सरोकारवालाको सहभागिता रहेको थियो । रासस
प्रकाशित: १० बैशाख २०८३, बिहीबार