ई-गभर्नेन्स बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपेश बिष्टले दिए राजीनामा

  • Technology Khabar | १० बैशाख २०८३, बिहीबार
ई-गभर्नेन्स बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपेश बिष्टले दिए राजीनामा

काठमाडौं ।

ई-गभर्नेन्स बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दिपेश बिष्टले पदबाट राजीनामा दिएका छन्। उनले यहि बैशाख ७ गते राजीनामा बुझाएका हुन्।

बिष्टले नयाँ सरकारलाई सहज होस भनेर राजीनामा दिएको बताए। उनले सरकारका मुख्य सचिव तथा बोर्डका अध्यक्ष सुमनराज अर्यालसमक्ष राजीनामा बुझाएका हुन्। उनले राजीनामा बुझाएसँगै उक्त पद स्वतः खाली हुनेछ।

यसअघि विद्युतीय सुशासन आयोगको रुपमा संचालनमा रहेको संस्थालाई पछि बोर्डमा रुपान्तरण गरिएको थियो। बिष्ट २०७९ असोजमा आयोगको सीईओमा खुला प्रतिस्पर्धाबाट नियुक्त भएका थिए।

बिष्टले आफ्नो नेतृत्वमा ई-गभर्नेन्सका लागि अत्यावश्यक विद्युतीय सुशासन ब्लुप्रिन्ट तयार पारेका थिए। त्यस्तै बोर्डले व्यक्तिगत डाटा संरक्षण नीति २०८२ को मस्यौदा समेत तयार पारेर सार्वजनिक गरेको छ। उनले आफ्नो कार्यकालमा सरकारहरु र नेतृत्वकर्ताहरुलाई विद्युतीय सुशासनको बारेमा बुझाउन सफल भएको बताए।

“मैले शुरुवातदेखिनै विद्युतीय सुशासनलाई जोड दिँदै आएको थिएँ। यसको लागि विद्युतीय सुशासन ब्लुप्रिन्ट समेत तयार पारिएको छ,” उनले भने, “अहिलेको सरकारले समेत विद्युतीय सुशासन र त्यसका योजनाहरुलाई अगाडि बढाएको छ।”

उनले आगामी दिनमा सरकारले चाहेको अवस्थामा विद्युतीय सुशासनको क्षेत्रमा पूर्ण सहयोग गर्ने समेत उल्लेख गरे।

प्रकाशित: १० बैशाख २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...