टेस्लाले पहिलो त्रैमासमा आम्दानी र नाफा दुवैमा वार्षिक आधारमा वृद्धि 

  • Technology Khabar | १० बैशाख २०८३, बिहीबार
टेस्लाले पहिलो त्रैमासमा आम्दानी र नाफा दुवैमा वार्षिक आधारमा वृद्धि 

काठमाडौं ।

टेस्लाले पहिलो त्रैमासमा आम्दानी र नाफा दुवैमा वार्षिक आधारमा वृद्धि देखाएको छ, जसमा विद्युतीय सवारी (ईभी) बिक्री र यसको फुल सेल्फ ड्राइभिङ (सुपरभाइज्ड) उन्नत चालक सहायता प्रणालीका सक्रिय सदस्यता बढ्नु मुख्य कारण बनेको छ। यस्तो सदस्यता संख्या १२.८ लाख पुगेको छ।

कम्पनीले पहिलो त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेपछि कारोबारपछिको सेयर कारोबारमा टेस्लाको मूल्य ४ प्रतिशतले बढेको थियो। तर यो वृद्धि छोटो समयमै घट्दै आम्दानी छलफलका क्रममा पुनः नकारात्मक क्षेत्रमा गएको थियो।

कम्पनीले बुधबार २२.३८ अर्ब डलर आम्दानी भएको जनाएको छ, जुन २०२५ को पहिलो त्रैमासको १९.३ अर्ब डलरको तुलनामा १६ प्रतिशत बढी हो। अटोमोटिभ आम्दानी पनि बढेर १६.२ अर्ब डलर पुगेको छ, जुन अघिल्लो वर्ष सोही अवधिको १३.९६ अर्ब डलरभन्दा बढी हो। उल्लेखनीय रूपमा कम्पनीको स्वतन्त्र नगद प्रवाह १.४४ अर्ब डलर सकारात्मक रहेको छ, जुन २०२५ को पहिलो त्रैमासको तुलनामा दोब्बरभन्दा बढी हो। विश्लेषकहरूले नगद घट्ने अपेक्षा गरेको अवस्थामा यो तथ्यांकले उनीहरूलाई आश्चर्यचकित बनाएको छ।

याहू फाइनान्सले सर्वेक्षण गरेका विश्लेषकहरूको अपेक्षाअनुसार आम्दानी पुगे पनि कम्पनीले ईभी बिक्री सुस्त हुँदा चुनौती सामना गरिरहेको छ। वर्षको पहिलो तीन महिनामा टेस्लाले विश्वभर ३५८,०२३ ईभी डेलिभरी गरेको छ, जुन करिब ३६८,००० को अनुमानभन्दा कम हो। सोही अवधिमा कम्पनीले ४०८,३८६ सवारी उत्पादन गरेको थियो, जुन डेलिभरीभन्दा धेरै हो।

पहिलो त्रैमासको आम्दानी बढ्नमा सवारीको औसत मूल्य वृद्धि, सेवा आम्दानी र एफएसडी सदस्यता ५१ प्रतिशतले बढेर १२.८ लाख पुग्नुले सहयोग गरेको छ।

सन् २०२५ मा टेस्लाको व्यवसायले उल्लेखनीय चुनौतीहरू सामना गरेको छ, जसका कारण नाफा वार्षिक रूपमा ४६ प्रतिशतले घटेर ३.८ अर्ब डलरमा झरेको छ। यसको मुख्य कारण ईभी बिक्रीमा गिरावट हो, जुन अमेरिकामा ७,५०० डलरको कर छुट समाप्त भएपछि अन्य अटो निर्माता कम्पनीहरूले पनि सामना गरेका थिए।

पहिलो त्रैमासको नतिजा वार्षिक रूपमा सकारात्मक भए पनि अघिल्ला तीन त्रैमाससँग तुलना गर्दा कमजोरी देखिन्छ। कम्पनीको चौथो त्रैमासको आम्दानी २४.९ अर्ब डलर र तेस्रो त्रैमासको आम्दानी २८ अर्ब डलर थियो, जहाँ कर छुट सकिनु अघि ग्राहकहरूले बढी ईभी खरिद गरेका थिए।

यी नतिजाले टेस्लाअझै पनि आफ्नो परम्परागत ईभी व्यवसाय, सेवा र सदस्यतामा निर्भर रहेको र एआई तथा रोबोटिक्सजस्ता भविष्यका योजनाबाट अझै उल्लेखनीय आम्दानी नआएको देखाउँछ।

कम्पनीको खुद नाफा ४७७ मिलियन डलर पुगेको छ, जुन २०२५ को पहिलो त्रैमासको ४०९ मिलियन डलरभन्दा बढी हो। तर त्यो २०२५ को नाफा २०२४ को सोही अवधिको तुलनामा ७१ प्रतिशत ले घटेको थियो। यसैगरी हालको नाफा पनि अघिल्ला तीन त्रैमासको तुलनामा कम छ—चौथो त्रैमासमा ८४० मिलियन डलर र तेस्रो त्रैमासमा १.३७ अर्ब डलर नाफा भएको थियो।

टेस्लाले सवारीको औसत बिक्री मूल्य वृद्धि, डेलिभरी बढ्नु, सेवा क्षेत्रको विस्तार र वारेन्टी तथा ट्यारिफसँग सम्बन्धित एकपटकका लाभले नाफा बढाएको जनाएको छ।

टेस्लाका सीईओ एलन मस्कले कम्पनी ईभी केन्द्रित व्यवसायबाट एआई र रोबोटिक्सतर्फ रूपान्तरणको चरणमा रहेको र यो आर्थिक रूपमा चुनौतीपूर्ण हुन सक्ने बारम्बार बताएका छन्। कम्पनीले आफ्नो अप्टिमस मानवजस्तो रोबोटको उत्पादन अझै ठूलो स्तरमा बढाएको छैन, जसको उत्पादन क्यालिफोर्नियाको फ्रेमण्ट कारखानामा हुने बताइएको छ। साथै रोबोट्याक्सी सेवा पनि अझै पूर्ण रूपमा विस्तार भएको छैन। कम्पनीले दोस्रो त्रैमासमा “पहिलो ठूलो स्तरको अप्टिमस कारखाना” निर्माणको तयारी सुरु गर्ने जनाएको छ।

हाल टेस्लाले अस्टिनमा सीमित रोबोट्याक्सी सेवा सञ्चालन गरिरहेको छ, जहाँ मानव सुरक्षा चालक बिना सेवा दिइन्छ। हालै ड्यालसर ह्युस्टनमा पनि सेवा विस्तार गरिएको भए पनि यसको पहुँच अझै सीमित रहेको छ।

कम्पनीले यस रूपान्तरणका लागि ठूलो लगानी गर्ने योजना बनाएको छ। टेस्लाले सन् २०२६ मा २५ अर्ब डलर पूँजीगत खर्च गर्ने जनाएको छ, जुन अघिल्लो खर्चको तुलनामा झण्डै तीन गुणा बढी हो। कम्पनीका सीएफओ वैभव तनेजाले यसका कारण वर्षको बाँकी अवधिमा नगद प्रवाह नकारात्मक हुन सक्ने बताएका छन्।

 

प्रकाशित: १० बैशाख २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार