
काठमाडौं ।
एप्पलले आगामी आईफोनहरूको लागि २०० मेगापिक्सेल क्यामरा अन्वेषण गर्ने भनेर अहिलेसम्म दुई पटक अफवाह सुन्नमा आएका छन्। पहिलो पटक यो मुख्य क्यामरा हुने भनिएको थियो भने त्यसको केही दिनपछि २०० मेगापिक्सेल टेलिफोटो क्यामरा २०२८ मा मात्र आउने अफवाह बाहिरिएको थियो।
वेइबोमा डिजिटल च्याट स्टेशनबाट आएको नयाँ लीकले एप्पलले आगामी सेप्टेम्बरमा आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्सबाट सुरु हुने गरी अब हरेक वर्ष ठूलो क्यामरा अपडेट लन्च गर्ने बताएको छ।
आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्सले धेरै हल्ला गरिएको भेरिएबल एपर्चर समावेश गर्ने भएका छन्। त्यसपछि, २०२७ मा प्रो मोडेलहरू कथित रूपमा १/१.१२” प्रकारको सेन्सर प्रयोग गरेर २०० मेगापिक्सेल मुख्य क्यामराको साथ आउनेछन् भने २०२८ मा २००मेगापिक्सेल पेरिस्कोप टेलिफोटो क्यामरा पनि थप गरिने बताइएको छ। त्यसैले २०२८ को आईफोन प्रोहरूमा दुईओटा २०० मेगापिक्सेल क्यामराहरू हुनेछन्।
२०२७ वा २०२८ को कुनै एक समयमा एप्पलले अल्ट्रावाइड क्यामराको लागि गिम्बल जस्तो ओआईएस पनि थप गर्ने उल्लेख गरिएको छ। त्यसैले आईफोन प्रो लाइनको लागि आगमी केही वर्ष रोचक हुने जस्तो देखिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ११ बैशाख २०८३, शुक्रबार