बेइजिङ हाफ म्याराथनको शीर्ष तीन स्थानमा अनरको ह्युमनोइड रोबोटको वर्चस्व

  • Technology Khabar | ९ बैशाख २०८३, बुधबार
बेइजिङ हाफ म्याराथनको शीर्ष तीन स्थानमा अनरको ह्युमनोइड रोबोटको वर्चस्व
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

अनर अब अचानक ह्युमनोइड रोबोट प्रविधिको अग्रपंक्तिमा आउन सफल भएको छ। कम्पनीले एमडब्ल्यूसीमा आफ्नो पहिलो मोडेल प्रस्तुत गरेको थियो र त्यसको केही महिना पछि कम्पनीको अर्को रोबोटले मानव बिरुद्ध रोबोट हाफ म्याराथन जितेको छ।

२१ किलोमिटर (१३ माइल) को हाफ म्याराथनमा २०२५ संस्करणमा होमो सेपियन्स (मानव) विजय भएको थियो। २१ सहभागी रोबोटहरू मध्ये केवल ६ ओटा रोबोटले मात्र म्याराथन पुरा गरेका थिए भने धेरैजसो रोबोटहरू ठेस लागेर वा धेरै तातो भएर म्याराथन पुरा गर्न असफल भएका थिए। विजेता रोबोटले मानव विजेताको भन्दा दोब्बर समय २ घण्टा ४० मिनेटमा म्याराथन पुरा गरेको थियो।

यो वर्षको हाफ म्याराथनमा भने अनर रोबोटले उक्त दूरी केवल ५० मिनेट र २६ सेकेन्डमा पुरा गरेको छ। रोबोटले यो कार्यक्रममा विजेता मानव सहभागीलाई १० मिनेट भन्दा बढी समयले मात्र हराउन सफल नभइ रोबोटले गत वर्ष युगान्डाका ज्याकब किप्लिमोले सेट गरेको ५६ मिनेट र ४२ सेकेन्डको विश्व कीर्तिमान पनि तोड्न सफल भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

यो हाफ म्याराथन रोबोटको गतिशीलता र सहनशीलताको परीक्षण मात्र नभइ यो नेभिगेसनको बारेमा पनि भएको र सहभागी रोबोटहरूको ४० प्रतिशत स्वायत्त रूपमा नेभिगेट गरेको (बाँकी रिमोट–नियन्त्रित थिए) उल्लेख गरिएको छ।

स्वायत्त रूपमा नेभिगेट गर्नेहरू मध्येका अनर रोबोटहरूले निर्णायक रूपमा जित हात पारेको र तिनीहरूमध्ये एकले स्वर्ण, अर्कोले रजत जित्यो र तेस्रोले कांस्य जित्न सफल भएको बताइएको छ। यो वर्षको हाफ म्याराथनमा टियाङ्गोङ अल्ट्रा २०२६ र युनिट्री एच१ रोबोटहरूको पनि सहभागीता रहेको थियो।

चीनले ह्युमनोइड रोबोटको क्षेत्रमा नवीनता र विकासलाई सक्रिय रूपमा बढावा दिइरहेको छ। चीनले हाल कारखानाका कामदारहरू, गृह सहायकहरू र युद्धभूमिमा सिपाहीहरू सहित त्यस्ता रोबोटहरूको लागि विभिन्न प्रयोगका केसहरूको परीक्षण गरिरहेको छ।

प्रकाशित: ९ बैशाख २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...