
काठमाडौं ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन मोबाईल इन्टरनेट जस्ता दूरसञ्चार सेवा उपलब्ध गराउने निकायले ग्राहकबाट दूरसञ्चार सेवा दस्तुर बापत असुल गरेको महसुलको दश प्रतिशत रकम दाखिला गरी जानकारी गराउन सम्बद्ध सबैलाई निर्देशन दिएको छ।्
प्राधिकरणले हालै एक सूचना जारी गरी सम्बन्धित सबैलाई यस्तो निर्देशन दिएको हो।
‘यस प्राधिकरणबाट दूरसञ्चार सेवाको अनुमतिपत्र प्राप्त गरी सेवा संचालन गरिरहेका सेवा प्रदायकहरुले आर्थिक | ऐन, २०८२ को दफा १४ बमोजिम ग्राहकबाट लिने महसुलको दश प्रतिशत रकम दूरसञ्चार सेवा दस्तुरबापत असुल गरिएको प्रत्येक महिनाको दस्तुर अर्को महिनाको पच्चिस गतेभित्र राजस्व खातामा दाखिल गर्नु पर्ने प्रावधान भएकोले दूरसञ्चार सेवा प्रदायकहरुले नियमानुसारको रकम राजस्व खातामा दाखिला गरी सो को जानकारी प्राधिकरणलाई गराएको नपाइएकोले नियमित रुपमा दाखिला गरी नियमानुसारको विवरण, कागजात सहित प्राधिकरणमा अनिवार्य रुपमा प्रत्येक महिना जानकारी गराउनका लागि यसै सूचना मार्फत सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई जानकारी गराइन्छ, सूचनामा उल्लेख छ।
आर्थिक ऐन, २०८१ को दफा १३ को उपदफा १ मा टेलिफोन मोबाईल इन्टरनेट जस्ता दूरसञ्चार सेवा उपलब्ध गराउने निकायले ग्राहकबाट लिने महसुलको दश प्रतिशत रकम दूरसञ्चार सेवा दस्तुर बापत असुल उपर गर्नु पर्नेछ, र उपदफा ५ मा ” दूरसञ्चार सेवा दस्तुरको प्रशासन आन्तरिक राजस्व विभागले निर्धारण गरे बमोजिम हुनेछ” भन्ने व्यवस्था रहेको छ।
यसैगरी आर्थिक ऐन, २०८२ को दफा १४ को उपदफा ५ मा ” दूरसञ्चार सेवा दस्तुरको प्रशासन नेपाल दूरसञ्चार प्राधिकरणले निर्धारण गरे बमोजिम हुनेछ“ भन्ने व्यवस्था रहेको छ।
यिनै प्रावधान अनुरुप प्राधिकरणले निर्देशन जारी गरेको हो।
प्रकाशित: ९ बैशाख २०८३, बुधबार