
काठमाडौं ।
गुगलले सोमबार आफ्नो जेमिनी फिचरलाई गुगल क्रोममा थप सात देशमा विस्तार गरेको छ, जसमा अस्ट्रेलिया, इण्डोनेसिया,जापान, फिलिपिन्स, सिङ्गापुर, दक्षिण कोरिया र भियतनाम समावेश छन्। कम्पनीले यो फिचर जापान बाहेक अन्य सबै देशमा डेस्कटप र आईओएस दुवैमा उपलब्ध गराएको छ।
गत वर्षदेखि गुगलले क्रोममा फ्लोटिङ विन्डोमार्फत एआई र जेमिनीलाई थप एकीकृत गर्दै आएको छ।
टेकक्रञ्चका अनुसार यस वर्षको सुरुवातमा कम्पनीले साइडबारमा आधारित सहायक फिचर ल्याएको थियो, जसले विभिन्न ट्याबहरूमा प्रश्नहरूको उत्तर दिन सहयोग गर्छ र जेमिनीको पर्सनल इन्टेलिजेन्स फिचर प्रयोग गर्न दिन्छ। यसमार्फत प्रयोगकर्ताले जीमेल र गुगल फोटोजजस्ता सेवासँग जोडेर व्यक्तिगत उत्तर प्राप्त गर्न सक्छन्।
साथै गुगल क्यालेण्डरमार्फत मिटिङ तालिका बनाउन, गुगल म्याप्सबाट स्थान सम्बन्धी जानकारी हेर्न र जीमेल प्रयोग गरेर इमेल लेख्न तथा पठाउन पनि सकिन्छ। प्रयोगकर्ताले साइडबारमा नानो बनाना २ प्रयोग गरेर वेबमा रहेका तस्बिरहरूलाई रूपान्तरण गर्न पनि सक्छन्।
जेमिनी इन क्रोम पहिलोपटक जनवरीमा अमेरिकामा उपलब्ध गरिएको थियो भने मार्चमा यसलाई भारत, क्यानडा र न्यूजिल्याण्डमा विस्तार गरिएको थियो।
यस नयाँ विस्तारसँगै जेमिनी इन क्रोम थप देशहरूमा पुगेको छ। तर ब्राउजरलाई नियन्त्रण गरेर प्रयोगकर्ताको सट्टा काम गर्न सक्ने एजेन्टिक फिचर भने परीक्षण चरणमा रहेको छ र हाल अमेरिकामा मात्र एआई प्रो र एआई अल्ट्रा भुक्तानी योजनाका प्रयोगकर्तालाई सीमित रूपमा उपलब्ध छ।
प्रकाशित: ९ बैशाख २०८३, बुधबार