इरानमा इन्टरनेट बन्द ५० औँ दिनमा प्रवेश

  • Technology Khabar | ६ बैशाख २०८३, आईतवार
इरानमा इन्टरनेट बन्द ५० औँ दिनमा प्रवेश

काठमाडौं ।

मध्यपूर्व युद्धको सुरुवातसँगै इरानी अधिकारीहरूले इन्टरनेटको पहुँचमा लगाएको प्रतिबन्ध शनिबार ‘अकल्पनीय’ ५० औँ दिनमा प्रवेश गरेको इन्टरनेट बजार अनुगमनकारी संस्था ‘मोनिटर नेटब्लक्स’ ले जनाएको छ।

नेटब्लक्सको सामाजिक सञ्जाल पेज एक्समा शनिबार लेखिएको छ, “इरान सात हप्तादेखि विश्वव्यापी इन्टरनेटबाट अलग भएको छ र ‘डिजिटल प्रतिबन्ध’ को ११७६ घण्टापछि ५० औँ दिनमा प्रवेश गरेको छ।”

“तथ्याङ्कले इन्टरनेटबिहिन अवस्थाले आधुनिक समाजको लागि अतिआवश्यक मानिएको सेवाबाट बञ्चित हुनुलाई अधिकांश इरानीहरूको जीविकोपार्जन र मानव अधिकारमा पुर्याइरहेको हानिबारे सङ्केत गर्छ,” नेटब्लक्सले भनेको छ।

नेटब्लक्सका अनुसार अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमा आक्रमण गरेलगत्तै इरानमा इन्टरनेटमा प्रतिबन्ध लगाइएको थियो, जुन यसअघि अप्रिल ५ सम्ममा नै रेकर्ड गरिएको सबैभन्दा लामो राष्ट्रव्यापी बन्द थियो।

नेटब्लक्सको अनुगमनले त्यस समयमा उल्लेख गरेको थियो, “उत्तर कोरिया कहिल्यै पनि विश्वव्यापी इन्टरनेटमा जडान भएको छैन। केही देशहरूले लामो समयसम्म बीच–बीचमा वा क्षेत्रीय–स्तरका प्रतिवन्धको अनुभव गरेका थिए।”

इरानको अत्यन्त प्रतिबन्धित स्थानीय इन्ट्रानेटले युद्धभरि काम गरिरहेको छ, जसले मानिसहरूलाई घरेलु वेबसाइटहरूमा जोडिन सक्षम बनाएको छ।

समाचारको लागि विश्वव्यापी वेबमा जडान गर्न वा इन्स्टाग्राम जस्ता प्रतिबन्धित सामाजिक सञ्जालका नेटवर्कहरूमा केहीले नेटवर्क ब्यान्डविथ उपलब्ध हुने दुर्लभ क्षणहरूमा उनीहरूको आईपी ठेगानाहरू लुकाउन भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) को सहारा लिन्छन्।

युद्ध सुरु भएदेखि नै भिपिएन प्रयोग गरेको आशङ्कामा इरानी अधिकारीहरूले उनीहरूलाई पक्राउ गर्ने वा जेल हाल्ने चेतावनीसहितका सूचनाहरू सम्प्रेषण गर्नेगरेका छन्।

धेरै सीमित सङ्ख्यामा व्यक्तिहरूसँग स्टारलिङ्क वा अन्य उपग्रहमा आधारित इन्टरनेट प्रदायकहरूमा पहुँच छ। यद्यपि, यी सेवा पनि प्रतिबन्धित छन्।

यसअघि जनवरीमा हजारौँको ज्यान गएको सरकार विरोधी प्रदर्शनका क्रममा इरानीहरूले १८ दिने लामो इन्टरनेट प्रतिबन्धको सामना गरेको थिए। रासस/एएफपी

प्रकाशित: ६ बैशाख २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...