
काठमाडौं ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाका मुख्य चौक तथा बजार क्षेत्रमा क्लोज सर्किट टेलिभिजन (सिसी टिभी) जडान गरिएको छ। अपराधजन्य घटनासहितका गतिविधि नियन्त्रण गर्ने उद्देश्यले गाउँपालिकाले पालिकाभित्रका मुख्य बजार क्षेत्र सिसी टिभी जडान गरेको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेका अनुसार चोरी, डकैतीसहितका अपराधजन्य घटना नियन्त्रण गर्न साथै नागरिकलाई सुरक्षाको प्रत्याभूत गराउन सिसी टिभी जडान गरिएको हो। त्यस्तै, अपराधिक गतिविधिको अनुसन्धानमा सहजत ल्याउन र ट्राफिक व्यवस्थापन तथा सडक नियमन गर्ने उद्देश्यलेसमेत सिसी टिभी जडान गरिएको आङ्देम्बेले जानकारी दिए।
उनका अनुसार गाउँपालिका-१, सिनामको पञ्चमी, वडा २ आम्बेगुदिनको खाम्दिम्बे बजार, वडा ४ तेल्लोकको बाघथला र विशाल चौकमा सिसी टिभी जडान गरिएको छ।
उक्त क्षेत्रहरूमा जडान भएका सिसी टिभीको नियन्त्रण र नियमन इलाका प्रहरी कार्यालय तेल्लोकले गर्ने गाउँपालिकाले जनाएको छ।
प्रकाशित: ५ बैशाख २०८३, शनिबार