
काठमाडौं ।
जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिना (चैत) को अवधिमा एक हजार १६६ वटा मुद्दा दर्ता गरेको छ। त्यसमा जघन्य अपराधका २१४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ४६, आर्थिक अपराधका ५६४ र अन्य अपराधका ३४२ मुद्दा छन्।
यसैगरी साइबर अपराध तथा ठगीतर्फ कुल २६१ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये अनलाइन सपिङको नाममा भएका ठगीसँग सम्बन्धित एक सय मुद्दा छन्।
यस्तै सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरका दुईवटा मुद्दामा तीन जनालाई प्रतिवादी बनाई रु २२ करोड ७५ लाख ९६ हजार ४८८ बराबरको बिगो दावी गरेर मुद्दा दर्ता गरिएको परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।
यसैगरी परिसरले हुण्डी कारोबार नियन्त्रणलाई पनि प्रभावकारी रूपमा अगाडि बढाउँदै चैत महिनामा तीन वटा मुद्दामा सात जनालाई प्रतिवादी बनाएको छ। उक्त मुद्दामा रु एक करोड ५६ लाख बराबरको बिगो दावी गरिएको छ।
प्रहरीले नागार्जुन नगरपालिका–८ भीमढुङ्गाबाट हुण्डी तथा अभौतिक मुद्राको कारोबार गर्ने दुई जनालाई रु एक करोड १६ लाख बराबरको नगद र अन्य सामानसहित पक्राउ गरेको उल्लेख गरेको छ। उनीहरूलाई नियन्त्रणमा लिई अभौतिक मुद्रा र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए।
यसैगरी काठमाडौँ महानगरपालिका २६ ठमेलबाट रु १७ करोड ७९ लाख ७० हजार ३७१ बराबरको अभौतिक मुद्राको कारोबार गर्ने चिनियाँ नागरिकलाई पक्राउ गरिएको उनले जानकारी दिए।
प्रकाशित: ३ बैशाख २०८३, बिहीबार