
काठमाडौं ।
सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट जारी रहेको छ। हिजोबाट शुरु भएको अन्तर्राष्ट्रिय स्तरको यो महत्त्वपूर्ण सम्मेलनको आज अन्तिम दिन हो।
नेपालमा यस्ता अन्तर्राष्ट्रिय प्रविधि सम्मेलनहरूको आयोजना हुनुलाई सरकारको ‘डिजिटल नेपाल’ अभियानलाई तीव्र गतिमा साकार पार्न एक महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ।
सम्मेलनको दोस्रो दिन आज विभिन्न क्षेत्रका दिग्गजहरुले विभिन्न विषयमा आफ्ना मन्तव्य राख्ने तालिका रहेको छ। आजको तालिका अनुसार पहिलो सत्रमा सीएन ल्याब्सका निर्देशक कृष्णकुमार लाहोतीले भौतिक रुपमा आइपीभी सिक्स कम्प्लायन्स तथा आईक्यान ICANN को एशिया प्रशान्त क्षेत्रका टेक्निकल इन्गेजमेन्ट डाइरेक्टर चम्पिका विजयतुङ्गाले नेपालमा डीएसएससेकको कार्यान्वयन सम्बन्धमा भर्चुअल माध्यमबाट आफ्ना धारणा राखेका छन्।
दोस्रो सत्रमा शुरुमा एपाक आइपीभी सिक्स काउन्सिलका अध्यक्ष सुरेश्वरन रामादासले आइपीभी सिक्स कार्यान्वयनका रणनीतिबारे प्रकाश पारेका छन्।
त्यसपछिको सत्रमा सानिमा बैंकका तर्फबाट बिक्रम श्रेष्ठले वित्तीय क्षेत्रका लागि आईपीभी६ चुनौतीका बारेमा तथा आईपीभी६ फोरमका लतिफ लादिदले विशेष वक्ताका रुपमा आफ्ना भनाइ राख्नेछन्। यसै सत्रमा १ घण्टा डिजिटल पूर्वाधार र इन्टरनेट इकोसिस्टम विषयमा प्यानल छलफलसमेत हुनेछ। सुवास खड्काको संयोजकत्वमा हुने यस छलफलमा डा. नवनीथन सी. अर्जुमन, सर्बिन श्यामी, लेना कन्साकार तथा बिनय बोहरा प्यानलिस्टका रुपमा रहनेछन्।
अन्तिम सत्रमा एपीएएनका आईपीभी६ तजा फाइभजी समूह अक्ष्यक्ष डा. नवनीथन सी. अर्जुमनले आईपीभी६ कार्यान्वयन – सहभागीहरूको लागि कार्यशाला सञ्चालन गर्नेछन्।
डा. नवनीथन र प्रा. डा. सुरेश्वरन रामदासले प्रस्तुतिकरण तथा प्रतिक्रियाको जिम्मेवारी सम्हाल्नेछन्। त्यसपछि अन्तिममा समुदाय सत्र रहनेछ जसमा समुदायको दृष्टिकोण/टिप्पणी प्रस्तुत गरिनेछ जसका प्रस्तोताहरमा एनपीआईएक्स/एनपीनोग/सानोगका रुपेश भक्त श्रेष्ठ, आईसीटी फाउण्डेशनका राजन लाम्साल तथा एनआरईएनका लोचन लाल अमात्य रहनेछन्।
प्रकाशित: २७ चैत्र २०८२, शुक्रबार