
काठमाडौं ।
मधेस प्रदेशमा ‘डिजिटल’ पत्रकारिताको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले धनुषाको ढल्केबरमा दुईदिने समाचार लेखन तथा सम्पादनसम्बन्धी व्यावसायिक तालिम आज सम्पन्न भएको छ।
आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजनामा सञ्चालन भएको उक्त तालिममा प्रदेशका आठवटै जिल्लाबाट ‘अनलाइन’ सञ्चारमाध्यममा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो ।
तालिममा सहभागी पत्रकारहरूले दुई दिनसम्म समाचार लेखनका आधारभूत सिद्धान्त, समाचार संरचना, भाषाशैली, सम्पादन प्रक्रिया तथा व्यावसायिक पत्रकारिताका व्यावहारिक पक्षबारे जानकारी दिएका छन् ।
मङ्गलबार तालिमको उद्घाटन गर्दै मधेस प्रदेशका अर्थमन्त्री महेशप्रसाद यादवले लोकतन्त्रको सुदृढीकरणमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेकोले त्यो भूमिकालाई कमजोर बनाउन नहुनेमा जोड दिएका थिए।
कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष धर्मेन्द्र झा, प्रशिक्षक कृष्ण अधिकारीलगायतले समाचारका आधारभूत पक्ष, संरचना निर्माण, तथ्यपरक प्रस्तुति, स्रोत व्यवस्थापन तथा सम्पादनका व्यावहारिक सीपबारे प्रशिक्षण दिएको आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाले जानकारी दिए। उनले प्रदेशमा कार्यरत सञ्चारकर्मीहरूको पेसागत हकहित संरक्षण र क्षमता विकासका लागि प्राधिकरणले विभिन्न योजनाहरू अघि बढाएको जानकारी दिए। रासस
प्रकाशित: २६ चैत्र २०८२, बिहीबार