चीनद्वारा ‘लिजियान–२ वाइ–१’ रकेट प्रक्षेपण

  • Technology Khabar | १७ चैत्र २०८२, मंगलवार
चीनद्वारा ‘लिजियान–२ वाइ–१’ रकेट प्रक्षेपण

काठमाडौं ।

चीनले सोमबार ‘लिजियान–२ वाइ–१’ नामक वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ। उक्त रकेटले तीनवटा भूउपग्रह बोकेको थियो।

रकेट स्थानीय समयअनुसार बेलुका ७ बजे उत्तरपश्चिम चीनस्थित व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन क्षेत्रमा रहेको प्रक्षेपण केन्द्रबाट उडान भरेको हो।

प्रक्षेपण सफल भई सबै भूउपग्रहहरू निर्धारित कक्षमा स्थापना भएका छन्। उपग्रहहरूमध्ये छिङझोउ कार्गो अन्तरिक्ष यान परीक्षण उपकरण पनि समावेश रहेको छ, जसलाई चिनियाँ विज्ञान एकेडेमी अन्तर्गत माइक्रोस्याटेलाइट नवप्रवर्तन एकेडेमीले विकास गरेको हो ।

यस परीक्षण उडानमा २७ वटा परियोजना समावेश छन् र कुल तौल १.०२ टन रहेको छ। यसले २०० देखि ६०० किलोमिटरसम्मको उचाइमा कक्षीय परीक्षण गर्नेछ। यो प्रक्षेपण लिजियान–२ रकेटको पहिलो उडान हो।

विकासकर्ताहरूका अनुसार यो ‘सामान्य बूस्टर कोर’ डिजाइन प्रयोग गर्ने चीनको पहिलो रकेट हो। यसको उचाइ ५३ मिटर, तौल ६२५ टन र थ्रस्ट क्षमता ७५३ टन रहेको छ। यसले ५०० किलोमिटर सूर्य–समकालिक कक्षमा ८ टन र तल्लो पृथ्वी कक्षमा १२ टनसम्म सामग्री लैजान सक्छ।

लिजियान–२ परियोजनाका कमाण्डर याङ हाओलियाङका अनुसार यो प्रक्षेपण चीनको नयाँ पुस्ताको अन्तरिक्ष ढुवानी प्रणाली विकासमा महत्वपूर्ण उपलब्धि हो । यसले एक मात्र रकेट प्रणालीमा निर्भरता घटाउँदै बहु–रकेट प्रणालीमार्फत लचिलो र सुरक्षित सेवा उपलब्ध गराउने आधार तयार गरेको छ। उनले थप बताएअनुसार पुनः प्रयोग गर्न सकिने रकेट प्रविधिमा पनि काम भइरहेको छ ।

प्रारम्भिक परीक्षणहरू सफल भइसकेका छन् र यस वर्ष थप परीक्षण गर्ने योजना रहेको छ । विकासकर्ताहरूले भविष्यमा व्यावसायिक रकेटहरूको प्रयोग बढ्दै जाने र यसले लागत घटाउँदै कार्यक्षमता र सुरक्षा दुवैमा सुधार ल्याउने विश्वास व्यक्त गरेका छन्। रासस/सिन्ह्वा

प्रकाशित: १७ चैत्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...